प्रधानसेनापति अमेरिका भ्रमणमा जानुअघि उनलाई ‘निगरानी’ मा राखिएको खुलासा

प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक अन्तर्राष्ट्रिय भ्रमणमा जानुअघि उनलाई नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले निगरानीमा राखेकाे खुलासा भएको छ । नेपाली ट्याबलोइट जनआस्था साप्ताहिकको अनलाइन संस्करणले यस्तो दाबीसहित समाचार प्रकाशन गरेको हो ।

प्रधानसेनापति शर्माले ४ असारदेखि १९ असारसम्म लेवनन, सिरिया र संयुक्त अधिराज्य अमेरिकाको भ्रमण गरेका थिए । उनको लेवनन र सिरिया भ्रमण संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकको अवस्था, बन्दोबस्ती र अन्य विषयमा केन्द्रीत थियो ।

तर, प्रधानसेनापति शर्माको अमेरिका भ्रमणलाई विशेष रुपमा हेरिएको थियो । उनको अमेरिका भ्रमणकाक्रममा स्टेट पाटर्नरपसीप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर हुने भन्दै त्यसको बिरोध देशमा भइरहेको थियो । यस विषयमा स्वयम नेपाली सेना र प्रधानसेनापति शर्मा नेपाली सेना कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्न नहुनेमा स्पष्ट थिए ।

यहीक्रममा प्रधानसेनापति शर्मा आफै अनौपचारिक रुपमा सादा पोशाकमा सत्तारुढ दल र विपक्षी दलका नेतासँग भेटवार्ता गरिरहेका थिए । यहीक्रममा उनी ३१ जेठको साँझ कोटेश्वरस्थित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा गएका समय सेना र राअबीका गुप्तचर उनको निगरानी गरिरहेका बेला नियन्त्रणमा लिएको जनआस्थाको अनलाइन संस्करणमा दाबी गरिएको हो ।

उसको समाचारका अनुसार अमेरिका जानुअघि प्रधानसेनापति प्रभुराम शर्मा कहाँ–कहाँ जान्छन्, उनलाई क–कसले भेट्छन् भन्ने कुराको सूचना संकलन गर्ने क्रममा सेना र अनुसन्धान विभागका एक–एकजना हवल्दार पक्राउ परेको उल्लेख छ । समाचारमा प्रधानसेनापति शर्मा ३१ जेठको साँझ ८ बजे झम्सिखेलस्थित सरकारी आवास शशीभवनमा फर्किने क्रममा गुप्तचरको फेला परेका थिए ।

उनी बिना बर्दी र बिना सरकारी प्लेटको गाडीमा कोटेश्वर पुगी पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटेर फर्किंदै थिए । गुप्तचरहरू साँझ ५ बजेदेखि नै कोटेश्वरमा तैनाथ रहेका उनीहरुले प्रधानसेनापति पच्छयाउन थालेपछि नियन्त्रणमा लिइएको थियो ।

उनीहरुले तीन घण्टादेखि प्रधानसेनापति शर्माको निगरानी गरेपछि नियन्त्रणमा लिएको सेना स्रोतले जनाएको छ । उसका अनुसार नेपाली सेनाको गुप्तचरी विभागका हवल्दार राजेन्द्र श्रेष्ठ र राअबीका छत्रबहादुर खड्कालाई नियन्त्रणमा लिइएको थियो ।
अछामको मेल्लेख गाउँपालिका– ५ का छत्रबहादुर राष्ट्रिय अनुसन्धान विभागका सूचक (हवल्दार सरह) का कर्मचारी हुन् । उनको बसाइ ललितपुर, महालक्ष्मी मन्दिरनजिकै हुनाले उनलाई अफिसले त्यो काममा खटाएको थियो। उनी भीम रावल गृहमन्त्री हुँदा २०६६ सालमा भर्ना भएका हुन् । सैनिक प्रहरीले नियन्त्रणमा लिएर रातभरि राख्ने क्रममा विभिन्न कोणबाट सोधपुछ गरेको थियो ।

उनीहरू अफिसले खटाएरै पछि लागेका हुन् वा कसैको उक्साहटमा भन्ने कुराको छानबिन गर्दा दुबै ड्युटीकै क्रममा रहेको बुझेपछि बिहान बल्ल छुटेका थिए । यसअघिका सेनापति पूर्णचन्द्र थापाले समेत आफ्नै जर्नेलहरूको निगरानीका निम्ति प्रशस्तै जासुस छाडेको घटना बाहिर आएको थियो ।

विभिन्न ओहोदावाल व्यक्तिको संवेदनशीलतालाई दृष्टिगत गर्दै राज्यका विभिन्न निकायले त्यस्ता व्यक्तिबारेको सूचना संकलन नियमित रुपमा गर्दछन् । ‘अण्डर कभर ड्युटी’, अर्थात् अदृश्य ढंगले परिचालित हुने यस्ता कर्मचारीलाई सुरक्षा निकायकै अर्काथरि कर्मचारीले पक्राउ र छानबिन गर्दा उनीहरू निरुत्साहित हुने अनुसन्धान विभागका एक हाकिमले बताएको जनआस्थाले उल्लेख गरेको छ ।

प्रधानसेनापति शर्मा रक्षा सचिव किरणराज शर्मासहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै लेवनान, सिरिया र अमेरिकाको भ्रमणमा गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *