सशस्त्रमा रिक्त रहेका पदमा तत्काल बढुवा र विशेष पदको प्रयास भइरहेको छः महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनमा खाली रहेका सबै पदहरुमा तत्कालै बढुवा गर्ने तयारीका साथ आफु अघि बढिरहेको बताएका छन् । उनले खाली पदहरु सिमित रहँदा सबैले एकै पटक पदोन्नती प्राप्त गर्न नसके पनि लामो समयसम्म एउटै पदमा रहेर कार्य गरिरहेका अधिकृतहरुको बृत्तिविकासका लागि कार्यसम्पादन मुल्यांकन प्रणालीलाई वस्तुपरक र बैज्ञानिक बनाउँदै लगिने बताए ।

उनले संगठन व्यवस्थापन तथा सर्वेक्षण वा विशेष पद श्रृजना गर्नेतर्फ समेत पहल भईरहेको बताए ।

महानिरीक्षक अर्यालले हालै इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका ५७ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित दर्ज्यानी चिन्ह प्रदान गरेपछि यसो बताएका हुन् ।

महानिरीक्षक अर्यालले पदोन्नती सँगै प्राप्त भएको दर्जा अनुरुपको कार्यसम्पादनमा पूर्ण व्यवसायिक भई क्रियाशिल रहन अधिकृतहरुलाई निर्देशन दिए । उनले राष्ट्रसेवक सशस्त्र प्रहरीहरु अनुशासित र ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहँदै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध भई क्रियाशिल रहने विश्वास समेत व्यक्त गरे ।

उनले अधिकृतहरुले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सकारात्मक सोचकासाथ अझ बढि अध्ययनशील र इमान्दार रहँदै मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत मार्गनिर्देशन गर्दै व्यवसायिक कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताए ।

दर्ज्यानी चिन्हबाट सुशोभन हुनेहरुमा नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका ५६ जना अधिकृतहरु र अवकाश पूर्व विशेष बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल श्रेष्ठ रहेका छन् ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर