काठमाडौंमा पानी पर्दा बेइजीङमा छाता, र ‘भाइसभर्सा’

एक समय थियो, नेपालका कम्युुनिष्टहरु नेपाली राजनीतिमा भारतीय सकारात्मक वा नकारात्मक प्रभावका विषयमा टिप्पणीगर्दा भन्ने गर्थे,‘काठमाडौंमा पानी पर्दा दिल्लीमा छाता ओढन थालियो वा दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढन थालियो ।’

नेपाल भारत र चीनको बीचमा अवस्थित सार्वभौम स्वतन्त्र राष्ट्र हो ।दुई ठुला व्यापारिक साझेदार तर सिद्धान्त र नीतिमा परस्पर विरोधी राष्ट्रका बीचमा बसेर हामीले सन्तुलित कुटनीति अंगिकार गर्नुपर्छ । यो आम बुझाई र मान्यता हो ।

योसँगै हामीले बुझ्नै पर्ने अर्को विषय भनेको, भारत–चीन सम्बन्ध खरानीमा छोपिएर रहेको बलिरहेको कोइला हो । जुन कुनैपनि समय भिषण आगोमा परिवर्तन हुनसक्छ ।

यसका लागि दुबै देशले नेपालबाट आफ्नो रक्षा कवच खोजिरहेका छन् । फरक छ त मात्र दुबैको शैलीमा ।

यतिबेला नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख लिउ चियान छाओले नेपाली भुमि टेक्नासाथै बालुवाटारमा प्रधानमन्त्री र मन्त्रालयमा परराष्ट्रमन्त्री भेटे ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेता लिउले नेपाली भूमी चीन बिरुद्ध प्रयोग नहुने प्रतिवद्धता खोजे । प्रधानमन्त्री देउवाले पनि चिनियाँ सहयोग ऋण नभई अनुदान होस भन्ने नेपालको अडान दोहोराए ।

यो नेपाली भूमी चीन बिरुद्ध प्रयोग हुने विषय भनेको नेपालमा रहेका एकमुठी तिब्बती शरणार्थीसँग जोडिएर हुने गरेको छ ।

तर, पछिल्लो केही वर्षयता नेपाललाई आपराधिक अखडा बनाएर चिनियाँ नागरिकले भारत र अमेरिकासहित पश्चिमा देशलाई लक्षित गरिरहेका साइबर अपराधका विषयमा सायदै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको भेटमा चर्चा भयो होला ।

चिनियाँ नागरिकबाट भइरहेका साइबर अपराधमा नेपाली भुमी प्रयोग भएको विषय देखि चीनको अघोषित नाकाबन्दीका कारण नेपाली व्यापारी र बिद्यार्थीले भोगिरहेको कष्टका विषयमा पनि चर्चा भएन ।

नेता लिउले एक चीन नीति प्रति नेपालको प्रतिवद्धता खोज्नेदेखि पार्टी पार्टीबीचको सम्बन्ध सुधारको विषयमा उनको भ्रमणको अजेण्डामा रहेको देखिन्छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमण सक्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि प्रमुख लिउले भेट गर्ने छन् ।

चार दिन लामो भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका प्रमुख लिउ चार वर्षमा नेपाल भ्रमण गर्ने छैठो वरिष्ठ चिनियाँ अधिकारी हुन् ।

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ, विदेशमन्त्री वाङ यी, रक्षामन्त्री वाई फेनहे, तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख सोङ ताओ र उप प्रमुख कुओ यचौले नेपाल भ्रमण गरेका थिए ।

कोभिडले सिर्जित समस्याको कारण २ वर्षभन्दा बढी समयमा चिनियाँ अधिकारीको भ्रमण पातलिएको भएपनि महामारी कम हुँदै जाँदा उच्च अधिकारीहरुको आगमन अझै बढ्ने देखिन्छ ।

पहिले दरवारलाई मित्र शक्ति मानेको बेइजिङले गणतन्त्रको स्थापनापछि भने राजनीतिक दलहरुसँगको सम्बन्धलाई विस्तारमा जोड दिँदै आएको छ ।

उनीहरु नेपालभित्र आफ्नो स्वार्थअनुसार चल्ने स्थायी शक्तिको खोजीमा रहेका छन् ।

यतिबेला लिउको भ्रमणकाक्रममा नेपालमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा लगायतको गठबन्धन सरकार छ । चीनको गुप्तचर निकायदेखि नेपालस्थित दूतावास र सीपीसी यो गठबन्धन भत्काएर एमाले सम्मिलित कम्युनिष्टहरुको मोर्चा बनाएर नेपालमा आफ्नो दबदबा कायम गर्न चाहन्छ ।

चीनको यो दबदबा भारतको भन्दा फरक छ । चीनसँग नेपालीहरुको भाषा समस्या र उनीहरुको एकहोरो स्वार्थ तथा व्यापारी मार्फत उनीहरुले दिने दबाब र प्रभावले नेपालमा विकासका नाममा श्रीलंका मोडल स्थापित हुने आशंका बढेको छ ।

यसको पछिल्लो उदाहरण भनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र बेल्ट एण्ड रोड इनिसियटिभका विषयमा भइरहेका सहमति र सम्झौता हुन् ।
चिनियाँहरुको देखेको भरपर्दो शक्तिमा नेपालका कम्युनिष्टहरु हुन् । जसको कारण चिनियाँ नेताहरुको नेपाल भ्रमणको प्राथमिकतामा नेपाली कम्युनिष्टहरुबीचको एकता प्रमुख अजेण्डाको रुपमा रहँदै आएको छ ।

२०७४ सालको आमनिर्वाचनको समयमा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पहिलो गठबन्धन र त्यसपछि एकता गर्ने अवस्थामा पुगेको थियो ।

एमाले र माओवादी केन्द्रबीच एकता हुँदा संसदमा नेकपाको शक्ति करिव दुई तिहाइ पुगेको थियो ।

त्यसपछि दुवै देशका कम्युनिष्ट पार्टीबीच सी विचारधाराको विषयमा छलफल चलाउनेदेखि भ्रमण आदानप्रदान गर्ने सम्बन्धमा लिखित सम्झौता नै भएको थियो ।

जसको नेपालभित्र अन्य राजनीतिक दलहरुले प्रश्न उठाएका थिए । यस्तै अन्तर्राष्ट्रिय शक्ति केन्द्रको पनि चासो बढेको थियो । नेकपाभित्रको विवादमा चीनले माइक्रो म्यानेजमेन्टको भूमिका निर्वाह गर्न खोजेको थियो ।

नेकपाभित्रको विवादको समयमा काठमाडौंस्थिति चिनियाँ राजदूत होउ यान्छीको बालुवाटार, खुमलटार र काटेश्वरबीचको दौडधूप हेर्न लायक थियो ।

नेकपाभित्र विकसित घटनाक्रम राजदूत होउको काबु बाहिर पुगेपछि बेइजीङबाट परिस्थितिको बारेमा आकंलन गर्नका लागि उच्चस्तरीय टोली भ्रमणमा आएको थियो ।

२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाभित्र उत्पन्न विवाद उत्कर्षमा पुगेको समयमा सीपीसीले उच्चस्तरीय टोली पठाएको थियो ।

त्यस समय देखिएको विवाद समाधान गर्नका लागि सीपीसीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका उप प्रमुख कुओ यचौको नेतृत्वमा ४ सदस्यीय टोली नेपाल आएको थियो ।

कोभिड महामारीको कारण पीपीइ लगाएर काठमाडौं उत्रिएको टोलीले विवाद गरिरहेका नेकपाका नेता र राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेर सहमति बनाउन दबाब दिएको थियो ।

राष्ट्रपति सीको भ्रमणको समयमा द्वीपक्षीय सम्बन्धलाई सामरिक साझेदारीमा पुर्याउने दुवै देशबीच सहमति भएको थियो । २३ वर्षपछि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी र तत्कालिन प्रधानमन्त्री ओलीबीच त्यस्तो सहमतिमा हस्ताक्षर भएको थियो ।

चीनले सुपुरदर्गी सन्धि गर्नका लागि गरेको प्रस्तावमा नेपालले पनि सकारात्मक जवाफ दिएको थियो । तर अमेरिकी दबाबको कारण दुवै देशबीच त्यस प्रकारको सन्धि रोकिएको थियो ।

चीनले राजनीति मात्रै नभएर आर्थिक तथा समाजिक क्षेत्रमा पनि आफ्नो प्रभाव विस्तार गर्न खोजेको छ । चीनको बढ्दो आर्थिक हैसियतपछि विदेश भ्रमण गर्ने चिनियाँ नागरिकको संख्या पनि बढ्दै गएको छ ।

नेपालमा चिनियाँ पर्यटकको संख्या कोभिडकाल पूर्व निरन्तर रुपमा बढ्दै गर्दा चिनियाँ व्यवसायीहरु पनि नेपाल ओइरिन थालेका थिए ।

राजधानीको ठमेलमा मात्रै नभएर अर्को प्रमुख गन्तव्य पोखरामा पनि चिनियाँ पर्यटन व्यवसायीको उपस्थितिले पनि त्यही नै देखाउँछन ।

कोभिड अघिको समयमा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या बढेपनि नेपालले खासै फाइदा उठान नसेको गुनासो अधिकारीहरुको छ ।
भूकम्पपछिको अवस्थामा चिनियाँ पर्यटकको संख्यामा वृद्धि गर्ने भन्दै नेपालले भीसा शुल्क मिनाहा गरिदिएको थियो । तर, यसरी भित्रिएका पर्यटकबाट नेपालको अर्थतन्त्रमा केही फाइदा पुग्न सकेन ।

चिनियाँहरुले नेपालमा हात हालेको अर्को निर्माण क्षेत्र हो ।

चीनभित्र राम्रो काम गरेपनि नेपालमा चिनियाँ निर्माण व्यवसायीहरुको बारेमा त्यति सकारात्मक धारणा रहेको छैन ।

न्युन मूल्यमा ठेक्का पार्ने, विभिन्न वहाना बनाएर ठेक्का समयमा नसक्ने, राजनीतिक र प्रशासनिक नेतृत्वलाई आर्थिक प्रलोभनमा पारेर लागत बढाउने जस्तो काममा चिनियाँ ठेकेदारको संलग्नता देखिएको छ ।

चिनियाँ ऋण तथा सहयोगमा देखिएको अर्को समस्या अपारदर्शीता हो । जसको नागरिक समाज तथा वुद्धिजिवीहरुले विरोध गर्दै आएका छन् ।
अर्कोतर्फ चीनको बढ्दो गतिविधिको कारण छिमेकी देशहरुमा समेत शंकाले घर गर्न थालेको छ ।

भारतीय सञ्चार माध्यमहरुमा नेपालमा चीनको बढ्दो गतिविधिको बारेमा नकारात्मक समाचारहरु आउने गरेका छन् । जसको कारण नेपाल र भारतबीचमा रहेको जनस्तरको सम्बन्धमा समेत समस्या ल्याउने देखिन्छ ।

भारतीयहरु भने सामारिक प्रतिस्पर्धामा रहेको चीनको बढ्दो राजनीति तथा आर्थिक गतिविधिले आफ्नो प्रभाव क्षेत्रलाई प्रभावित पार्ने बुझाइ रहेको छ ।

सि चिनफिङ चीनको राष्ट्रपति बनेदेखि नै चीनले आक्रामक कुटनीति अपनाउँदै आएको थियो ।

जसको कारण नेपालसहितको छिमेकी देशहरुमा आफ्नो प्रभाव विस्तारका चीनले आक्रामक रणनीति अख्तियार गर्दै आएको छ ।  चीनले विश्व परिस्थिति आफ्नो अनुकुल बनाउन ‘क्यारोट एन्ड स्टिक’ रणनीतिकाे समेत प्रयोग गर्दै आएको छ ।

यो ‘गाजर वा लठ्ठी’ सिद्धान्तले नेपालमा बढाउँदै लगेको प्रभावले हामीलाई अहिले भन्दा धेरै अन्तर्राष्ट्रिय शक्ति केन्द्रको रणमैदान बनाउनेमा अब शंका गरिरहन परेन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर