कांग्रेसमा भातृ तथा शुभेच्छुक संगठन बनाउने प्रस्ताव

सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रीय समिति बैठकमा थप भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

सोमबार शुरु भएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनलाई गति दिनका लागि थप संगठन निर्माण गर्ने प्रस्ताव पेश भएको हो ।

बैठकमा थप भ्रातृ तथा शुभेच्छुक संगठन निर्माणको प्रस्ताव पेश भएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताए ।

त्यसैगरी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी दिनमा निर्वाचन केन्द्रित भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने उनले बताए ।

प्रवक्ता महतले सोमबारको बैठकमा गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचारप्रसार समितिले गरेको कामको प्रतिवेदन पेश भएको जानकारी दिए ।

प्रवक्ता महतले पार्टीको सम्पूर्ण भ्रातृ संगठन पूर्णरुपमा क्रियाशील र गतिशील हुने बताए । उनले नेपाली कांग्रेस नेतृत्वको सरकारले जनताप्रति समर्पित हुँदै जनताका तत्कालीक आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए ।

उनले पार्टी केन्द्रीय समितिको बैठक केही दिनसम्म चल्ने जानकारी दिए । समसामयिक राजनीतिक विषयवस्तुको सन्दर्भमा पार्टीका केन्द्रिय सदस्यले धारणा राख्ने र समग्रमा केन्द्रीय समितिले धारणा बनाउने पनि उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *