घुससहित पक्राउ परेका महोत्तरीका प्रधानाध्यापकसहित दुईजना विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्री मावि एकडाराका प्रधानाध्यापकसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौंमा प्रधानाध्यापक राम दिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद पासमान विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार प्रधानाध्यापक रामदिनेश मण्डल र अध्यक्ष विनोद पासमानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरेका थिए । जसमा उनीहरुले विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा गत जेठ १९ गते अख्तियारको टोलीले मण्डल र पासमानलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

उनीहरुले सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि हुन भएको आयोगले बताएको छ । उनीहरु दुवैजना विरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गरी सोमबार आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने सरकारी साक्षीविरुद्ध पनि मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्दामा सरकारी साक्षीले विशेष अदालतमा बयान फेरेपछि आयोगले सोमबार अजयकुमार कुशवाहाविरुद्ध ३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

तत्कालीन जिल्ला वन कार्यालय बाराका तत्कालीन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलले जिल्ला वन कार्यालय बाराअन्तर्गत वरियापुर नर्सरीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रमअन्तर्गत बाँसको बिरुवा खरीदमा व्यापक अनियमितता गरेको मुद्दामा कुशवाहाले अदालतमा प्रतिकूल बकपत्र गरेपछि अख्तियारले उनीविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ ।

सरकारी साक्षीका रूपमा पेश गरिएका कुशवाहाले अनुसन्धानका क्रममा गरेका कागजातको व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको आयोगको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर