कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि, शेखरका १२ प्रश्नको जवाफ देउवाले देलान ?

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक मंगलबार पनि बस्दैछ । सोमबारबाट शुरु भएको समितिको बैठक दोस्रो दिन दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
स्थानीय तह चुनावको समीक्षा गर्न र आमचुनावको रणनीति तयार गर्न बोलाइएको बैठकमा पार्टी र सरकार सञ्चालनको विषयमा देउवामाथि प्रश्नहरु सोधिएको छ ।  शेखर कोइराला समूहले बैठकभित्र र बाहिर चर्कोसँग उठाएका छन् ।
कोइराला निकट तरुण विद्यार्थीहरुले भ्रातृ संगठन गठन र सञ्चालनमा संस्थापन पक्षले एकलौटी गरेको र विधान अनुसार पार्टीलाई सञ्चालन गरेको भन्दै नाराजुलुस गरेका थिए ।
प्रधानमन्त्री देउवालाई पार्टी केन्द्रीय कार्यालयभित्र प्रवेश गर्न बाटो बनाउन प्रहरीले वल प्रयोग गर्नु परेको थियो ।
बैठकमा सरकार र पार्टी सञ्चालनमा कतै पनि सन्तोष गर्ने ठाउँ नभएको भन्दै आएको कोइराला समूहले केन्द्रीय कार्यसमिति बैठकमै सभापतिमाथि प्रश्नहरू तेर्स्याएको छ।
पूर्ववर्ती सरकारका गलत निर्णयलाई निरन्तरता दिएर देउवाले ‘ओलीपथ’ पछ्याएको आरोपसमेत कोइराला समूहले लगाएको छ।
राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागजस्ता शक्तिशाली निकायलाई बालुवाटारले निजी स्वार्थका निम्ति दुरुपयोग गरिरहेको चर्चा चलेका बेला कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार सुरु बैठकमा यसबारे पनि प्रश्न उठेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ती दुई विभागलगायत दर्जनभन्दा बढी महत्त्वपूर्ण निकायलाई आफूमातहत ल्याउँदा देउवाले ‘अधिनायक र सर्वसत्तावाद’ को भएको बताएका थिए ।
अहिले त्यही प्रश्न कोइराला समूहले प्रधानमन्त्री देउवामाथि सोझिएको छ ।
अर्थ मन्त्रालयमा बिचौलिया घुसाएर करको दर परिवर्तन गराएको, गभर्नरलाई निलम्बन गरेको र संवैधानिक परिषद् बैठकको गणपूरक संख्याका विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत ल्याएको प्रावधानलाई निरन्तरता दिएर कानुन संशोधन गर्न लागेकोसहितका विषय उठाएका छन् ।
राजस्व चुहावट र आर्थिक अपराध नियन्त्रण तथा स्रोत नखुलेको सम्पत्ति छानबिनका लागि गठन भएका निकाय बालुवाटारको नीति/निर्देशनबाट चल्ने गरेको सत्तारूढ कांग्रेसकै नेताहरू बताउँछन्।
नेता शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा सरकार र पार्टी सञ्चालनबारे देउवामाथि १२ बुँदाको सवाल प्रस्तुत गर्दै भ्रष्टाचारका काण्डहरूको छानबिन ओझेल पर्नुको कारण सोधेका छन्।
‘तत्कालीन ओली सरकारले राष्ट्रिय अनुसन्धान,राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनु भनेको प्रधानमन्त्री अधिनायकवादतर्फ जानु हो भनेका थियौं’ कोइरालाले भनेका छन् ।
कोइरालाको प्रश्न छ, ‘साझा कार्यक्रममा पनि विगत सरकारले गरेको अलोकतान्त्रिक गतिविधि सच्याउन भन्यौ तर वर्तमान सरकार बनेको झन्डै एक वर्ष पुगिसक्दा यस्ता विषय किन प्राथमिकतामा किन परेनन्?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर