गण्डकीका मुख्यमन्त्री र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत फ्यालिसिटी भोल्क बीच भेटवार्ता भएको छ । सोमबार भएको सो भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध थप सुदृढ हुँदै जाओस् भन्ने चाहना पनि व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशको विकासमा विशेष गरी शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, प्रविधि प्रवद्र्धनमा अष्ट्रेलियाको सहयोग आफूहरूका लागि अपेक्षित रहेको उनको भनाइ थियो ।

नेपाल र अस्ट्रेलियाबीचको कूटनीतिकसम्बन्ध सन् १९६० मा स्थापना भए पश्चात् दुई देशबीचको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहँदै आएको मुख्यमन्त्री पोखरेलले बताए ।

दुवै देशको शिक्षा र पर्यटन क्षेत्रको संलग्नताले गर्दा आपसी सम्बन्ध जनस्तरसम्म फैलिएको उनले उल्लेख गरे । अष्ट्रेलियन डेभलपमेन्ट कोअपरेसन कार्यक्रममा १९७९ मा नेपाललाई समावेश गराइएपछि आपसी सहयोग अझ बढेको उनले स्मरण गरे । अस्ट्रेलियन सरकार र निजी क्षेत्रले शिक्षा, स्वास्थ्य, वन वातावरण, प्रविधि, मानव विकास, ग्रामीण विकास, शान्ति निर्माण प्रक्रियामा महत्वपूर्ण सहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले सो कार्यको प्रशंसा गरे ।

नेपालले कपडा, कार्पेट, पेन्टिङ आदि अष्ट्रेलिया निर्यात गर्दै आएको छ भने नेपालले प्रशोधित तेल, तरकारी आदिको आयात गर्छ । अस्ट्रेलिया नेपालीका लागि प्यारो घरजस्तो भएको उल्लेख गर्दै मुख्यमन्त्रीले ठूलो सङ्ख्यामा नेपाली विद्यार्थी अष्ट्रेलियामा गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गएको उल्लेख गरे ।

नेपाली विद्यार्थी र अस्ट्रेलियामा बसोबास गर्ने नेपालीप्रति अष्ट्रेलिया देखाइएको सहयोगका लागि मुख्यमन्त्रीले आभार व्यक्त गरे । प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालय र अस्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यका लागिसमेत मुख्यमन्त्री पोखरेलले चासो व्यक्त गरे ।

राजदूत भोल्कले अष्ट्रेलिया सरकारले नेपालमा लामो समयदेखि शासकीय सुधारका क्षेत्रमा काम गर्दै आएको बताउँदै अहिले पनि सङ्घीयता सुदृढीकरणमा आर्थिक र प्राविधिक सहयोग गरिरहेको जानकारी गराए । राजदूत भोल्कले सोमबार नै पोखराको हरियोखर्कस्थित ग्रिन पास्चर अस्पतालमा स्थापित अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।

कोभिडका बेलामा नेपाल सरकारले दातृ निकायसँग गरेको आग्रहअनुसार अ‍ष्ट्रेलियाले सहयोग गरेको उनले स्मरण गरे । अहिले पनि कोभिडबाट प्रभावितका लागि आर्यआर्जनका क्षेत्रमा आइएनएफमार्फत् काम हुँदै आएको उनले बताए । जीविकोपार्जन, आयआर्जन, अपाङ्गता भएकाको लागि सबलीकरण कार्यक्रममा आफूहरूले सहयोग गर्दै आएको उनले बताए ।

गण्डकी विश्वविद्यालयसँग अ‍ष्ट्रेलियाका शैक्षिक संस्थासँग सहकार्यका लागि समन्वय गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । अक्त अवसरमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा संसदीय मामिलामन्त्री विन्दुकुमार थापाले सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीका बारेमा अनुभव सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर