साइबर अपराधविरुद्ध एक्लै लड्न सकिँदैन : महानिरीक्षक सिंह

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले साइबर अपराधविरुद्ध एक्लै लड्न नसिकने बताएका छन् ।

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सीका (कोइका)का पदाधिकारीसँग क्षमता अभिवृद्धिका लागि साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले वित्तीय अपराध, साइबर बुलिङ लगायतका साइबर अपराध दिन प्रतिदिन बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमले नेपाल प्रहरीको संस्थागत विकासका साथै साइबर अपराध नियन्त्रणका लागि थप टेवा पुग्ने बताए ।

उनले नेपाल प्रहरी यस प्रकारका अपराध नियन्त्रण तथा अनुसन्धानका लागि अति संवेदनशील र गम्भीर रहेको उल्लेख गरे ।

प्रहरी महानिरीक्षक सिंहले साइबर अपराधविरुद्ध एक्लै लड्न नसकिने उल्लेख गर्दै कोइकाको साइबर व्यूरो प्रोजेक्टसँग आपसी समन्वय र सहयोग आदान प्रदान गरी अगाडि बढ्न नेपाल प्रहरी तत्पर रहेको बताए । साथै उनले परियोजनाले आगामी दशकमा साइबर अपराध अनुसन्धानको लागि बलियो आधार निर्माण गर्ने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा कोइका नेपालका डेपुटी कन्ट्री डाइरेक्टर जोङ सुङ चोइले साइबर अपराध नियन्त्रण नेपालको लागि ठूलो चुनौतीको विषय रहेको उल्लेख गर्दै परियोजनाअन्तर्गत आपसी समन्वय गरी काम गर्न आफूहरू तयार रहेको बताए ।

साथै उनले नेपालमा पनि साइबरको माध्यमबाट वित्तिय अपराध, यौन उत्पीडन र हिंसालगायतका अपराध हुने गरेको पाइएकोले यस्ता अपराध न्यूनीकरणका लागि परियोजनाले जगको रूपमा काम गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने बताए ।

कोइका नेपालका प्रोजेक्ट मेनेजर गिबुम किमले साइबर परियोजनासम्बन्धी विषयमा मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा सोही प्रोजेक्टका साइबर सेक्युरिटी एक्सपर्ट योउन्सिक जाङले साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी गरेका काम, साइबर व्यूरोको अवलोकन र विश्लेषणबाट देखिएका समस्या र सुधार गर्नुपर्ने पक्षलगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु र कोइका नेपालका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूबीच साइबर सुरक्षासम्बन्धी छलफल समेत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर