लिउको भ्रमणबारे यसो भन्छन् कम्युनिष्ट नेताहरु

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियान छाओको चार दिने नेपाल भ्रमणको विषयमा कम्युनिष्ट नेताहरुले आफ्नो प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गरेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै खनालले विदेशीले चीनविरुद्ध नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता लिउमा रहेको बताएका हुन् ।

उनले लिउ सो कुरा जाहेर गर्नका लागि भएको बताए । उनले नेपालका सबै पार्टीले एक चीन नीति लिने र चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गरेको बताए । पूर्वप्रधानमन्त्री खनालले भर्खरै विदेश विभाग प्रमुखमा नियुक्त भएका चियान छाओले पहिलो भ्रमण नेपालमा गर्नुले चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको बताए । यो भ्रमणसँगै नेपाल र चीनबीचको आगामी सम्बन्ध अझ राम्रो हुने उनले उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद हरिबोल गजुरेलले नेपालका पछिल्ला केही निर्णयका कारण चीन सशंकित भएका कारण विदेश विभाग प्रमुखको नेपाल भ्रमण भएको बताए । उनले नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चीनको सदीक्षा रहेको भन्दै पछिल्ला निर्णयका कारण नेपाल अस्थिर र अशान्त हुने हो कि भन्ने चिन्ता चीनमा रहेको बताए । उनले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका वामपन्थीहरु एकै ठाउँमा आइदिउन् भन्ने चाहना राख्नु स्वाभाविक भएको पनि बताए ।

नेकपा (एमाले) का नेता तथा सांसद प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको एक चीन नीतिमा निरन्तरता खोजेको बताए। नेपालको भूमि चीनविरुद्ध प्रयोग नहोस् भन्नेमा चीन संवेदनशील देखिएको उनले बताए । त्यस्तै राजनीतिक स्थायित्व हुन सबै राजनीतिक दलबीच समझदारी गरेर अगाडि बढ्दा राम्रो हुने सन्देश चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमणले दिएको नेता ज्ञवालीले बताए ।

त्यस्तै उनले एशियामा शक्ति राष्ट्रको हस्तक्षेप बढिरहेको र त्यसको बाछिट्टा नेपालमार्फत चीनको संवेदनशीलतामा नपरोस् भन्नेमा विदेश विभाग प्रमुखमार्फत चीनको सरोकार रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर