निवर्तमान अर्थमन्त्री शर्माबारे छानबिन गर्न गठित समितिद्वारा अर्थ मन्त्रालयको निरीक्षण

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ ।

बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सिसीटिभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान गरिएको सीसीटिभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरुसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । उनले समितिका सदस्यलाई अर्थ मन्त्रालयका प्राविधिकहरुले त्यसबारे आवश्यक जानकारी गराएको पनि बताए ।

यसैबीच, समितिले सो घटनाको सम्बन्धमा आवश्यक कागजात बिहीबार दिउँसो २ बजेभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार समेत गरेको छ । सो सम्बन्धमा आवश्यक कागजातसहितको प्रमाणहरु समितिलाई उपलब्ध गराउन आजै बिहान १० बजे अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि समितिले जनाएको छ ।

निवर्तमान अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिहरु सामेल गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन सो संसदीय विशेष छानवीन समिति गठन गरिएको थियो । समितिमा एमालेबाट प्रदिप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विश्वकर्मा छन् । त्यसैगरी नेपाली काँग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत छन् भने नेकपा (एकीकृत समाजवादी)की सरलाकुमारी यादव, जनता समाजवादीबाट सुरेन्द्रकुमार यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण रहेका छन् । एक साताअघि अर्थात् गत असार २२ गते बुधबार गठन गरिएको सो समितिको सभापति समेत अझै चयन गरिएको छैन । कार्यविधि भने तय गरी छानवीनको कामलाई अघि बढाइएको समितिका सचिव अर्यालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर