नेपालबारे बेइजिङको मुख्य चासो के हो?

पछिल्लो समय नेपालमा अमेरिकासहितका पश्चिमा मुलुकको प्रभावलाई चीनले गम्भीरतापूर्वक लिन थालेको छ । चीनको लागि नेपालमा विशेषगरी सुरक्षा चासो रहने भएकाले उसले अन्य मुलुकको बढ्दो प्रभावबारे चीनले सतर्कता बढाएको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख लिउ चियान छाओ बुधबार चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए । सो क्रममा नेपालका विशहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

नेपाली सत्तारूढ दलका नेताहरूसँगको भेटवार्तामा लिउले चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै दलहरूसँग राम्रो सम्बन्ध राख्न चाहेको धारणा राखेको सीपीसीको अन्तर्राष्ट्रिय विभागले जनाएको छ।

त्यसबाहेक उनले अन्तर्राष्ट्रिय परिवेश उथलपुथल बन्दै गइरहेको भन्दै एक अर्काका मूलभूत स्वार्थ र चिन्ताहरू जगेर्ना गर्न मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए ।

नेपालबारे चिनियाँ चासो
शताब्दीऔँ अघिबाट सम्पर्कको आदानप्रदान रहेको भएपनि नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५५ मा स्थापना भएको थियो।

दुई देशबीच उत्तरमा १४ सय १४ किलोमिटर सीमा जोडिएको छ, जुन विकट हिमालय क्षेत्र हुँदै तिब्बतको पठारसँग जोडिन्छ।

सन् १९५० को दशकमा चीनले आफूमा गाभेको तिब्बतसँग नेपालको सिमाना जोडिएका हुनाले सुरक्षा आँखाबाट बेइजिङले नेपाललाई हेर्ने गरेको विज्ञहरू बताउँछन्।

चीनको मामिलाबारे जानकारहरु पनि नेपालमा चीनको लागि सुरक्षाकै मुख्य चासो रहने गरेको बताउँछन् । नेपालको फितलो गुप्तचर तथा प्रशासन यन्त्रकबो कारण पनि चीनले नेपालप्रति सतर्कता बढाएको उनीहरुको भनाइ छ ।

नेपालले निरन्तर रूपमा एक चीन नीति प्रति आफू प्रतिबद्ध रहेको र आफ्नो भूमि चीन विरुद्ध प्रयोग हुन नदिने बताउँदै आएको छ।

तर पछिल्लो समय अमेरिकी अनुदान सम्झौता मिलेनिअम च्यालेन्ज कर्पोरेशनको संसदीय अनुमोदन र सुरक्षा साझेदारी स्टेट पार्टनरशिप प्रोग्राममा आबद्ध नहुने निर्णयसम्म आइपुग्दा चिनियाँ चिन्ता अझ बढ्दै गएको देखिन्छ।

चीनको चहना
रणनीतिक मामिलाका जानकारहरु चीनले तिब्बतलाई आफ्नो ‘संवेदनशील’ भूभागका रूपमा हेर्ने गरेको र नेपाल पनि तिब्बतसँग जोडिएकाले चीन नेपालप्रति पनि संवेदनशील रहेको उनीहरुको तर्क छ ।

पहिला तिब्बती शरणार्थीलाई नेपाल हुँदै धर्मशालामा जान दिने भद्र सहमति भए पनि पछिल्लो समय तिब्बतीहरु आउने क्रम रोकिएको उनीहरुले बताएका छन् ।

चिनियाँहरूले सन् २००८ को बेइजिङ ओलिम्पिक्स आसपासबाट नेपाली सुरक्षा निकायसँग एकदमै राम्रो सम्बन्ध राखे । त्यसैले अहिले घुसपैठ शून्यमा झरेको उनीहरुले बताएका छन् ।

उनका अनुसार चीन र अमेरिका एकअर्काका प्रतिद्वन्द्वी भएकाले पनि काठमाडौंमा आफ्नो प्रभाव नगुमोस् भन्नेमा बेइजिङको मुख्य चासो छ।

केही समय पहिले एक जना अमेरिकी कूटनीतिज्ञले काठमाडौंस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेपछि एक जना चिनियाँ विश्लेषकले नेपाल आफ्नो चीन नीतिबाट पछि हट्न लागेको हो? भन्दै प्रश्न गरेका थिए।

अमेरिकाप्रति चीनको आक्रोश
त्यसपछि चीनमा दक्षिण एसिया विज्ञका रूपमा चिनिएका प्राध्यापक हु शिशेङले अमेरिकी राजनीतिज्ञहरू चीनको विकासलाई बाधा पुर्‍याउन, रोक्न र अस्तव्यस्त पार्न तिब्बत मामिलाको प्रयोग गरिरहेको आरोप लगाएका थिए।

दलाई लामापछिको कालखण्ड नजिकिँदै जाँदा तिब्बत स्वायत्त क्षेत्रलाई अस्थिर बनाउन तिब्बतको मुद्दा उपयोग गर्ने विषयमा अमेरिकाले नेपाल सबैभन्दा उपयुक्त अनि अपरिहार्य साझेदारका रूपमा हेरेको हुले उल्लेख गरेका थिए।

बेलायतपछि नेपालले दौत्य सम्बन्ध राखेको दोस्रो देश संयुक्त राज्य अमेरिका हो। हालैका दशकमा काठमाडौंमा बढेको अमेरिकी उपस्थितिले चिनियाँहरूलाई चिन्तित बनाएको कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् ।

चीन र अमेरिकाबीचको रणनीतिक प्रतिस्पर्धा चुलिँदै जाँदा उक्त तिक्ततापूर्ण सम्बन्धनको बाछिटामा नेपाल जस्ता कैयौँ देशमा पर्नसक्ने विज्ञहरूले चेतावनी दिने गरेका छन्।

गोटी नबन्न चेतावनी
सोमवार मात्रै इन्डोनेशियाको जाकर्तामा आसियान सचिवालयमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ् यीले कैयौँ देशहरूलाई पक्ष विपक्षमा उभिन दबाव परिरहेको भन्दै ठूला शक्ति राष्ट्रका द्वन्द्वमा ‘बुद्धिचाल खेलका गोटी बन्न नहुनेमा’ जोड दिएका थिए।

तिब्बतसँग सीमा जोडिएको र सन् १९५९ मा तिब्बती नेता दलाई लामा भारतमा आश्रय लिन गएसँगै हजारौँ तिब्बती शरणार्थीको बसोबास रहेको नेपालमा आगामी दिनमा उक्त प्रतिस्पर्धा अझ बढ्नसक्ने जानकारहरु बताउँछन्

एक साता अघि चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले एउटा समाचार प्रकाशित गर्दै चर्को विरोधको सामना गर्नुपरे पनि नेपाललाई सैन्य सहयोग दिने एउटा कार्यक्रमबाट अमेरिका पछि नहटेको टिप्पणी गरेको थियो।

उक्त खबरमा स्टेट पार्टनरशिप प्रोगामभन्दा वैकल्पिक सुरक्षा साझेदारीको खाका तयार पार्ने काम भइरहेको भन्दै त्यसले नेपाललाई फाइदा नगर्ने चेतावनी दिइएको थियो।

चिनियाँ मुखपत्रमा नेपालीमा एउटा भनाइ रहेको उल्लेख गर्दै नेपाललाई ‘दुई ठूला मुलुकबीच सावधानीपूर्ण सन्तुलन कायम गर्न कोसिस गर्ने अण्डा’ का रूपमा चित्रित समेत गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *