दलाई लामासँग वार्ता गर्ने बेइजिङलाई दवाव दिने विधेयक अमेरिकी संसदमा प्रस्तुत

अमेरिकी संसदमा आध्यात्मिक नेता दलाई लामासँग वार्ता गरेर तिब्बतको विषयमा बाँकी रहेका समस्याहरु समाधान गर्नका लागि चिनियाँ नेताहरुलाई दवाव दिने सम्बन्धी नयाँ विधेयक प्रस्तुत गरिएको छ । यसमा तिब्बतको विषयमा बेइजिङबाट सञ्चालन हुने मिथ्या सूचना अभियानलाई सशक्त रुपमा प्रतिवाद गर्न अमेरिकी विदेश मन्त्रालयलाई निर्देशन दिने विषय पनि रहेको छ ।

संसदको डेमोक्य्राटिक सांसद जिम म्याकगोभर्न र रिपब्लिकन सांसद माइकल म्याककाउलले ‘द प्रोमोटिङ अ रिजोलुसन टु द तिब्बत चाइना कन्फ्लिक्ट एक्ट’ नामको विधेयक संसदमा संयुक्त रुपमा प्रस्तुत गरेका हुन् ।

म्याकगोभर्न संसदको चीन सम्बन्धी कार्यकारी समितिको स-अध्यक्ष र म्याककाउल संसदको वैदेशिक मामिला सम्बन्धी कमिटीका सदस्य हुन् ।
‘यस विधेयक पीआरसी(पिपुल रिपब्लिक अफ चाइना) र दलाई लामा वा उनका प्रतिनिधिबीच वार्ता तत्काल शुरु गर्नु पर्ने चाहान्छ । २०१० यता कुनै औपचारिक वार्ता भएको छैन, चिनियाँ अधिकारीहरुले दलाई लामासँग वार्ताका लागि तर्कपूर्ण सर्त राखेका छैनन्’ विधेयकमा भनिएको छ ।
म्याकगोभर्नले चीन तिब्बती आध्यात्मिक नेतासँग वार्ता शुरु गर्न अनिच्छुक रहेको बताएका छन् । ‘चीनले निरन्तर रुपमा दलाई लामातर्फ पिढ्युँ फर्काउने काम गरेको छ’ म्याकगोभर्नले भने ‘हाम्रो दुवै दलको विधेयकले अमेरिकाको नीति जमिनीस्तरमै  चिनियाँ मिथ्या सूचनाको प्रतिरोध गर्ने नीतिलाई सशक्तिकरण गर्ने होस भन्ने चाहान्छौं,जसले दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याएर समस्या समाधान गर्न सकोस भन्ने हो।’

चिनियाँ शासनविरुद्ध १९५९ मा असफल विद्रोहपछि तिब्बतबाट भागेका दलाई लामा भारतमा शरण लिइरहेका छन् । त्यस यता बेइजिङले महत्वपूर्ण नीति तथा तिब्बती विद्रोहीलाई दमनबाट चिनियाँ शासनलाई वैधानिकता दिने कोसिस गरिरहेका छन् ।

‘उनीहरु तिब्बती जनताको स्वतन्त्रता खोस्ने र इतिहासलाई पुनर्लेखन कोसिस गरेका छन । त्यो अमेरिकी मूल्य र मान्यता तथा हाम्रो राष्ट्रिय सुरक्षा चाहाना जोखिममा पारेको छ’ म्याककाउले भनेका छन् ।

‘दुवै दलले प्रस्तुत गरेको यो विधेयकले तिब्बतीहरुले चाहेको जस्तो भविष्य सुनिश्चित र चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक वैधानिकताको झुठो दावीलाई अस्वीकार गर्छ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *