प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शनिबार भेटवार्ता भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी भएको बताएका छन्।

उनले आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको भन्दै छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्घिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहने बताएका छन्।

शुक्रबार भारत भ्रमणमा गएका प्रचण्डले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दै छन् ।

प्रचण्डले शनिबार भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने र आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

शनिबार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण तीन महिना पहिले नै तय भइसकेकाले आकस्मिक नभएको बताए ।

आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने प्रचण्डले बताए ।

‘कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन । समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो । यो भ्रमण आकस्मिक होइन, दुई तीन महिना अघिदेखि यसमा छलफल भइरहेको थियो’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *