भारतले भन्याे ‘प्रचण्डको भ्रमण राजनीतिक निम्तोमा, माेदीसँगकाे भेट उपयुक्त थिएन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो भारत भ्रमण सफल भएको बताइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुन नसकेको भेटको विषयमा खिन्न थिए ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निम्तोमा तीन दिने भारत भ्रमणमा गएका प्रचण्डलाई अन्तिम समयसम्म पनि मोदीसँग भेट हुने विश्वास थियो । त्यसबाट उनी नेपालको राजनीतिलाई पनि सन्देश दिन चाहन्थे ।

सरकारी अधिकारी र भाजपाका नेताहरुबाट प्राप्त गरेको स्वागत सत्कारले जति उत्साहित बनाएको थियो मोदीसँग भेट नहुँदा ती सबैलाई खल्लो बनाएको थियो ।

मंसिरमा हुने आमनिर्वाचितको मिति घोषणा पूर्व नै प्रचण्ड प्रधानमन्त्री बन्नका लागि दिल्लीको सद्भावना आफुलाई रहेको सन्देश दिन चाहन्थे ।

आइतबार बिहान दिल्लीस्थित भाजपा मुख्यालयबाट बाहिरिदै गर्दा भ्रमणको ‘क्लाइमेक्स’ अर्थात भारतीय प्रधानमन्त्री मोदीसँगको भेट बाँकी रहेको उनले बताएका थिए ।

दिल्लीमा भारतीय प्रधानमन्त्री माेदीसँग भेट हुन नसकेको कुनै ‘क्लु’ नभेटेका प्रचण्डलाई भारतीय संस्थापन पक्ष भेटका लागि ‘रिजर्व’ रहेको थियो ।

उनीहरुको बुझाइमा प्रधानमन्त्री बन्ने विषय स्थापित गर्न प्रचण्डले केही हतारमा भारत भ्रमण गरेका थिए । ‘उनको मनशाय बुझेको भारतले प्रधानमन्त्री मोदीसँगको भेटलाई ‘रिजर्व’ राखेको हो’ भ्रमणको बारेमा जानकार भारतीय पक्षले भन्यो ।

भारतले ‘प्रचण्डकाे भ्रमण भाजपाकाे निमन्त्रणामा भएकाे राजनीतिक हाे, प्रधानमन्त्री माेदीसँगकाे भेट उपयुक्त’ नभएको प्रतिक्रिया विभिन्न माध्यमबाट सार्वजनिक गरेकाे  थियो । भारतीय पक्षले प्रचण्डसँग भारतीय प्रधानमन्त्री मोदीसँग भेट गराउने पूर्व प्रतिवद्धता नभएको बताएको छ ।

दिल्लीमा कान्तिपुरसँग गरेको अन्तर्वार्तामा पनि प्रधानमन्त्री बन्ने मनसाय प्रष्ट रुपमा प्रकट गरेका थिए । उनले प्रधानमन्त्री देउवासँग आलोपालो सरकारको नेतृत्व बारेमा छलफल हुने बताएका थिए ।

भारत भ्रमणमा रहँदा विदेशमन्त्री एस जयशंकरसँग राजनीतिक भेटघाट भएको र सबै पक्षसँग राम्रो कुराकानी भएको प्रचण्डले विमानस्थलमा बताए ।

‘भारतका विदेशमन्त्री एस जयशंकरसँग राजनीतिक भेटघाट भयो । संविधान घोषणाका बेला त्यति राम्रो थिएन । अहिले राम्रो कुराकानी भयो सबै पक्षमा’ उनले भने,

‘म धेरै आशावादी भएर आएको छु । हामीले गरिरहेका कुराहरू केही सहज हुन्छ भन्ने लागेको छ । हामीले पनि उहाँहरूका पार्टीका नेताहरूलाई बोलाओस् भन्ने प्रस्ताव छ ।

यसले केही न केही सकारात्मक परिणाम दुई देशको सम्बन्धमा ल्याउँछ । तत्काल देखिएका केही समस्याहरू पनि समाधानमा आउनेछ । यस भ्रमणले केही प्रगति हुन्छ भन्ने विश्वासका साथ आएको छु ।’

तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अन्तिम समयमा किन रोकियो भन्नेबारे आफूलाई केही जानकारी नआएको उनले बताए । ‘मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन,’उनले भने ।

भारत भ्रमणमा रहँदा दाहालाई राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विनयमोहन क्वात्राले सहितका वरिष्ठ भारतीय अधिकारीहरुले भेट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर