चितवनमा एक वर्षमै २१३ जनामा डेंगुको संक्रमण, बच्न के गर्नुपर्छ ?

चितवनमा गत आर्थिक वर्ष २०७८/०७९ मा २१३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणमा सो संख्यामा डेंगुका बिरामी फेला परेका हुन् ।

स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालकाअनुसार यो संख्या आर्थिक वर्ष २०७७/७८ को भन्दा कम हो । यस वर्षमा एक हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ जनामा डेंगु देखिएको थियो ।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु रोगको संक्रमण हुने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षण हुन् । एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुने जनस्वास्थ्य अधिकृत ढकालले बताइन् ।

डेंगु लागेको अवस्थामा ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । यो रोगबाट बच्न साँझपख लामो कपडा लगाएर बाहिर निस्कने, झुलभित्र बस्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

यस्तै जिल्लामा गत आवमा २६८ मा स्क्रफटाइफस रोगको संक्रमण देखिएको छ । तीन हजार २८६ जनाको परीक्षणका क्रममा उनीहरूमा स्क्रफटाइफस देखिएको हो । आव २०७७/७८ मा दुई हजार २९० जनाको परीक्षणका क्रममा ३१८ मा स्क्रफटाइफस देखिएको थियो ।
स्क्रफटाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ ।

स्क्रफटाइफस लागेको अवस्थामा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग देखा पर्नुजस्ता लक्षण देखिने गर्दछ ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजंगलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मल्हमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने ढकालले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर