चार दिन लामो कार्यकाल सकेर बिदा भए राअविका एआईजी थापा, चलखेलले बढुवा प्रभावित

राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) कुलदेव थापा आफ्नो चार दिन लामो कार्यकाल सकेर मंगलबार बिदा भएका छन् । विभागले ३१ असारमा बढुवा भएका थापालाई मंगलबार बिदाई गरेको हो । उनी एआईजीमा ५८ वर्षीय उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

३१ असारमा बसेकोे मन्त्रिपरिषद् बैठकले थापालाई देशकाे एकमात्र गुप्तचरी निकाय राअविको दोस्रो वरियताको पद अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको थियो ।

उनी १० वैशाखमा अवकाश भएका यादवराज रेग्मीको स्थानमा बढुवा भएका थिए ।

बढुवाका प्रतिस्पर्धीबीचको अस्वस्थ्य प्रतिस्पर्धाका कारण पद रिक्त भएपनि राअविमा एआईजी बढुवा भएको थिएन । ३ साउनमै अनिवार्य अवकाश हुने भएपछि चुपचाप बसेका थापालाई सरकारले गठबन्धनबाट दाबी गरिरहेका डीआईजीहरुलाई जिल्याउँदै बढुवा गरेको थियो ।

राअविका प्रमुख मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले २७ भदौंमा उमेरहदकै कारण अनिवार्य अवकाश पाउँदै छन् ।

मंगलबारदेखि रिक्त रहेको पदमा बढुवा हुने डीआईजी नै राअविको भावी नेतृत्व बन्ने सम्भावना बढी भएकाले यतिबेला चर्को दौडधुप र लविङ चलिरहेको छ ।

राअविका डीआईजीमध्ये २०७४ भदौ १४ मा बढुवा भएका ४ अधिकृतहरु मुख्य प्रतिस्पर्धामा छन् । त्यस्तै उनीहरुपछी बढुवा भएका समेत यतिबेला एआईजी बढुवाको दौडधुपमा सक्रिय रहेका छन् ।

बढुवा प्रत्यासीमा यतिबेला डीआईजीहरु हुतराज थापा, ओम जोशी, हरिहर पौडेल र सुनील ढकाल अघिल्लो बढुवाबाट छन् । यस्तै टेकेन्द्र कार्की प्रकाश पाण्डे र सुमन वैद्य समेत यतिबेला बढुवाका लागि जोडबल गरिरहेका छन् ।

यतिबेला बढुवाका लागि बालुवाटार र खुमलटार निकट प्रत्यासीको जोडबलका कारण राअविमा भावी नेतृत्व चयन सोचे अनुसार सहज नहुने संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर