चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै मन्त्रीलाई ज्ञापन

चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले मंगलबार सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो ।

हालै गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको समाचारहरूप्रति राष्ट्रिय एकता अभियानले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षणसमेत गराएको छ ।

‘अन्तर्राष्ट्रिय कानून र मूल्यमान्यताको उल्लंघन गर्दै नेपाल–चीन सीमाको रुइलालगायतका विभिन्न क्षेत्रमा भइरहेको अतिक्रमण दुई देशबीचको मित्रताको अपमान मात्र नभई सम्पूर्ण नेपालको सार्वभौमसत्तनमाथि नै ठाडो चुनौती हो,’ अध्यक्ष यादवले ज्ञापनपत्रमा भनेका छन्, ‘चीनद्वारा नेपालको भौगोलिक अखण्डतामाथि पटकपटक हुने प्रहारको जति निन्दा गरे कम हुन्छ ।’

हालको सरकार गठन भएको सुरुआती अवस्थामा नै नेपाल–चीन सीमामा हुने अतिक्रमणहरूविरुद्ध चालिएको कदमहरू प्रशंसनीय रहेको यादवले भनेका छन् । सरकारको सुरूआती कदमहरूले राष्ट्रवादी जनता उत्साहित भए पनि सरकारले गरेका कूटनैतिक प्रयासहरूको बावजुद पनि सीमा अतिक्रमण जारी हुनु दुःखद् रहेको अभियानको ज्ञापनपत्रमा उल्लेख छ ।

सरकारबाट सीमा रक्षाका लागि गरिएको प्रयासहरूबाट अपेक्षित परिणाम हासिल हुन नसक्दा नेपाली जनता पुनः दुखित र अधैर्य भएको अभियानले ज्ञापनपत्रमा भनेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘हामी यस सरकारबाट सीमा अतिक्रमणबारे निर्णायक र कठोर कदम चालिने अपेक्षा राख्दै सरकारका हरेक कदमहरूमा अभियानको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाउन यो ज्ञापनपत्र बुझाइएको अवगत गराउन चाहन्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *