भारत सरकारको अनुदान सहयोगमा सिन्धुलीमा निर्माण भएको शैक्षिक भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटका लागि निर्मित शैक्षिक भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले मंगलबार भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रु.४ करोड ४१ लाखको लागतमा सामुदायिक विकास परियोजनाको रूपमा यस भवनको निर्माण भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरू मध्येको एक रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को साझेदार संस्थाको रूपमा रहेको उक्त संस्थाले जिल्ला समन्वय समिति तथा कमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल इन्जिनियरिङ र कृषि (पशुविज्ञान) शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको छ ।

त्यस्तै उक्त संस्थाले काठमाडौ विश्वविद्यालयसँग सम्बद्ध रही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ तथा सूचना प्रविधिका कक्षा पनि सञ्चालन गर्दै आएको छ । यस इन्स्टिच्यूटमा २९२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ३० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरूलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने विश्वास लिइएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातवटै प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये सिन्धुली जिल्लाका ४ गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर