विपद् व्यवस्थापन एकल प्रयासबाट सम्भव छैन्ः प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले विपद् व्यवस्थापन चुनौतीपूर्ण कार्य रहेकोले कसैको एकल प्रयासबाट सम्भव नहुने बताएका छन् । उनले विपद् व्यवस्थापनमा सबै सुरक्षा अङ्गहरु तथा अन्य सरोकारवाला निकायहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताएका हुन् ।

उनले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण तथा जलवायु परिवर्तन जस्ता चुनौतीहरुका बीच भविष्यमा विपद् व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले सबै किसिमका विपद्‍मा काम गर्न सक्ने गरी विज्ञहरु तयार गर्न राज्य संयन्त्र सजग हुनुपर्ने तथा विपद् सम्बन्धी सूचना आदानप्रदान गर्ने सयन्त्रलाई थप प्रभावकारी बनाउनु पर्ने धारणा राखेका थिए ।

नेपाली सेनाले नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा नेपाली सेनाले जङ्गी अड्‍डामा संचालन गरेको ‘विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक–२०७९’ आयोजना गरेको हो ।

उसले विपद्मा फौजको प्रभावकारी परिचालन, उद्दार तथा प्रतिकार्यका निमित्त विपद् प्रतिकार्यमा खटिने सबै सरोकारवाला निकायहरुबीच छलफल एवं समन्वय गर्न आवश्यक भएकाले बैठक आयोजना गरेको जनाएको छ ।

बलाध्यक्ष रथी सरोज प्रताप राणाको स्वागत मन्तव्य सहित शुरु भएको उक्त समन्वयात्मक बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले आ-आफ्नो मन्तव्य राखेका थिएइ ।  बैठकमा नेपाली सेनाकाे  युद्धकार्य निर्देशनालयले विपद् व्यवस्थापन सम्बन्धी विविध विषयहरुमा प्रस्तुतीकरण गरेकाे थियाे ।

मन्तव्यको क्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् प्रतिकार्यमा सेनाले प्रमुख उद्धारकर्ताको रुपमा मात्र नभई जोखिम न्यूनीकरण गर्ने विविध क्रियाकलापमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । उनले भविष्यमा आइपर्न सक्ने विपद्का समयमा सम्पूर्ण सुरक्षा निकाय एवं सरोकारवाला निकायहरुले एक–आपसमा समन्वयकारी भूमिका निर्वाह गरी सूचनाको आदानप्रदान लगायत ‘योजना साथ काम पनि साथ’को अवधारणा अनुरुप विपद् प्रतिकार्यमा एकजुट भई अघि बढ्न समेत सुझाव दिए ।

विपद्‍ व्यवस्थापन कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न सरकारी एवं सुरक्षा निकायहरुलाई सहभागी गराई संचालन हुने यस किसिमको समन्वयात्मक बैठकले विपद् प्रतिकार्यमा परिचालन हुने सम्पूर्ण निकायहरुको क्षमता अभिवृद्धि भई विपद् व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर