न्यायालयको सुधारमा ध्यान दिन सांसदहरूको जोड

सांसदहरूले सामान्य नागरिकले सहज रूपमा न्याय पाउन कठिन भएको र न्यायालयमा हुने गरेका भ्रष्टाचारका विषय बाहिरिने गरेकाले न्यायालयको समग्र सुधारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसदहरूले न्यायालयको सुधारसँगै वर्षाका कारणले हुने डुबान, सडक दुर्घटनालगायतका विषयमा पनि ध्यान दिनुपर्नेमा दिएका हुन् ।

सांसद प्रकाश रसाइली ‘स्नेही’ ले पहुँचयोग्य न्याय नभएको बताए । समग्र न्यायालयको सुधारका लागि उच्चस्तरीय न्याय सुधार र निर्देशन आयोग गठन हुनुपर्नेमा उनको जोड छ ।

सांसद पार्वतीकुमारी विसुंखेले अदालतको पुनर्संरचना नहुँदा जनताको पहुँच न्यायमा नपुगेको र जनमुखी न्याय नभएको बताइन् । न्यायमूर्तिलाई महाअभियोग लगाउँदैमा न्यायालयमा सुधार नआउने उनको भनाइ छ ।

सांसद डा. डिला संग्रौला पन्तले वर्षा सुरु भइसकेकाले अहिलेदेखि दसैँतिहारमा सडक दुर्घटना बढी हुने हुँदा यसको न्यूनीकरणमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

सांसद दिलकुमारीले बर्सेनि सर्पको टोकाइबाट धेरैको मृत्यु हुने भए पनि उपचारका लागि राम्रो व्यवस्था नभएको बताइन् ।

सांसद टेकबहादुर बस्नेतले मदन भण्डारी लोकमार्गका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।

सांसद दिव्यमणि राजभण्डारीले महँगी बढिरहँदा सचेत जनताले खर्च कटौती गर्न सार्वजनिक सवारीसाधन प्रयोग गर्नुपर्नेमा जोड दिए ।

सांसद दीपकप्रकाश भट्टले सुदूरपश्चिमको पहाडी जिल्लाबाट उपचारका लागि नेपालगञ्ज जानुपर्ने बाध्यता भएकाले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको आवश्यकता रहेको बताए ।

सांसद नवीना लामाले गंगालाल अस्पताललगायतका अस्पतालमा अहिले उपकरण अभावले मुटुको शल्यक्रिया नभएकाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारले ध्यान दिनुपर्नेमा दिइन् ।

सांसद देवप्रसाद तिमल्सिनाले तराईमा ४०/४५ डिग्रीको तापक्रम हुँदा दिनभर काम गरेर खानुपर्नेले बाहिर निस्कन नसकेकाले जनतालाई राहतको व्यवस्था गर्नुपर्ने बताए ।

सांसद नारायणप्रसाद खतिवडाले टोखा–छहरे सुरुङमार्ग बजेटबाट हराएको र धेरै राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ भइरहेको औँल्याए ।

सांसद पवित्रा निरौला खरेलले दुर्गम क्षेत्रमा स्वास्थ्य संस्थामा सुविधा नहुँदा नागरिक शहरी क्षेत्रमा जानुपर्ने तर शहरी क्षेत्रका अस्पतालमा सरकारीमा पहुँच र निजीमा ठूलो रकम चाहिएको बताइन् ।

सांसद पूर्णकुमारी सुवेदीले वर्षायाम सुरु भए पनि नेपालगञ्ज जलमग्न भइरहेको र विगतमा पनि धेरै धनजनको क्षति भएकाले यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रभु साहले काठमाडौँमा पानी परे पनि तराईमा किसानले खेती गर्न नसकेको बताए । किसान आकासे खेतीमा बाँच्नु परेको र उनीहरूले सिँचाइ, बीउ, मल नपाएको उनको भनाइ छ ।

सांसद डा. विजय सुब्बाले तेह्रथुम र पाँचथर जोड्ने तमोरको पुल वि.सं. २०६९ मा सुरु भएकामा अझै सम्पन्न नभएको र अहिले आएर निर्माण रोकिएको बताउ । पुल निर्माण पूरा गर्नुपर्ने र ढिलाइ गरेमा कारबाही हुनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर