‘जगदम्बा स्टील्सले उत्पादन गर्ने डण्डीको गुणस्तरमा होइन, प्रकाशित समाचारमा शंका गर्नुहोस्’

जगदम्बा स्टील्स प्रालिले आफूहरूले उत्पादन गरिरहेको फलामे डण्डीमा नभई त्यसकाविरुद्ध नियोजित रूपमा प्रकाशित समाचारमा शंका गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ ।  कम्पनीले बुधबार प्रेस विज्ञप्तिमार्फत जगदम्बा स्टील्स, शंकर ग्रुप र यसका संचालकविरुद्ध निरन्तर आइरहेका समाचार उत्पादन र व्यक्तिको छविलाई कहीँकतैबाट आँच पुर्‍याउने उद्देश्यले भइरहेको जनाएको हो ।

उसले विज्ञप्तिमा कम्पनीका उत्पादनको लोकप्रियताबाट आहत कुनै स्वार्थ समूहबाट यस्ता प्रयास भइरहेको आँकलन भएको जनाएको छ । ‘त्यस्ता झुटा समाचारका स्रोतहरूबारे छिट्टै सत्य तथ्य जानकारी बाहिर आउँछ भन्ने हाम्रो विश्वास छ । यसबारे सत्यतथ्य बाहिर ल्याउनका लागि हामी हाम्रो ठाउँबाट प्रयासरत छौं । यसबारे हामीले सम्बन्धित निकायमा पत्रचार गरी खोज अनुुसन्धान गर्नका लागि समेत अपिल गरिसकेका छौं,’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।

जगदम्बा स्टील्स प्रालि, यसका उत्पादन र संचालकहरूविरुद्ध बीजपाटी डट कम अनलाइन न्यूज पोर्टलमा आएका समाचारप्रति कम्पनीले आपत्ति जनाएको हो । उसले प्रालिबाट उत्पादित फलामे डन्डीको गुणस्तरका बारेमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘जगदम्बा स्टील्स विगत २८ वर्षदेखि डण्डी उत्पादनमा संलग्न देशकै एक प्रमुख र प्रतिष्ठित स्टील उत्पादन गर्ने कम्पनी हो । यसका उत्पादनहरू नेपाल गुणस्तर चिह्नप्राप्त छन् र विभिन्न चरणमा हुने केमिकल र फिजिकल गुणस्तर परीक्षणका निर्धारित र आवश्यक प्रक्रिया पूरा गरेरमात्र उपभोक्तासम्म पुग्छन् । साथै यसका उत्पादनहरू स्तरीय कच्चा पदार्थको प्रयोग गरेर उच्च प्रविधिबाट निर्मित हुन्छन् र नेपालबाहिर भारतलगायत तेस्रो मुलुकमा पनि गुणस्तर परीक्षणमा सफल भई निर्यात हुँदै आएका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

गुणस्तरीयताकै प्रत्याभूतिका सन्दर्भमा यसका उत्पादनले आईएसओ र आईएएसआईजस्ता अन्तर्राष्ट्रिय गुणस्तर चिह्नसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ ।

‘त्यसैले आफ्ना उत्पादनका गुणस्तरप्रति कम्पनी पूर्णतः सचेत र जिम्मेवार छ भन्ने कुरा हामी आम उपभोक्तालाई विश्वास दिलाउन चाहन्छौं । समाचार प्रसारण गर्ने पोर्टलद्वारा सम्प्रेषित यस कम्पनीद्वारा उत्पादित डण्डी कम गुणस्तरको रहेको र उपभोक्ता ठगिएको कुरा पूर्णतः कपोलकल्पित छ र यस कम्पनीलाई बदनाम गराउने तथा हाम्रा उपभोक्तालाई गुमराहमा पार्ने गलत मनसाय र स्वार्थद्वारा प्रेरित छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ । हाम्रो कम्पनी यस्तो भ्रामक र कपोलकल्पित समाचार तथा यसका प्रसारणकर्ताप्रति खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘राष्ट्रिय उत्पादन र आयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले ४ हजार व्यक्तिलाई रोजगारीसमेत दिएको छ र नेपाली उत्पादनको निर्यात गरेर अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवेशलाई सबल बनाउने प्रक्रियामा समेत यो कम्पनी सक्रिय रहेको छ । त्यसैले आफ्ना उत्पादनको गुणस्तरप्रति कम्पनी उदासीन हुने प्रश्नै उठ्दैन । यसप्रति कम्पनी पूर्णतः सजग र जिम्मेवार छ । हामी यसै विज्ञप्तिमार्फत पुनः हाम्रा उपभोक्तालाई फलामे डण्डीलगायत कम्पनीका उत्पादनको गुणस्तरीयताप्रति आश्वस्त गराउन चाहन्छौं र भ्रामक समाचार प्रकाशन गर्ने संस्थालाई पत्रकारिताको आचारसंहिताको पालना गर्न र कुनै निहित स्वार्थद्वारा प्रेरित भई यस किसिमको भ्रमपूर्ण समाचार प्रकाशन गर्ने काम नगर्न आह्वान गर्दछौ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर