दाल ल्याउने भनेर दुबईबाट चुरोट आयात, आयातकर्ता सम्पर्कविहीन

दुबईबाट मुङको दाल बोकेर वीरगन्जको सुक्खा बन्दरगाह आइपुगेको कन्टेनरमा ठूलो परिमाणमा विदेशी चुरोट बरामद भएपछि आयातकर्ता सम्पर्कविहीन भएका छन् । दुबईबाट भारत हुँदै सुक्खा बन्दरगाहमा आएको कन्टेनर गत असार १३ मा भन्सार कार्यालयका कर्मचारीले जाँचपासका लागि खोल्दा ५८ लाख ३८ हजार ४ सय खिल्ली चुरोट बरामद भएको थियो ।

काठमाडौं टोखास्थित कालिका इन्टरप्राइजेजले आयात गरेको उक्त कन्टेनर जाँचपासका लागि भन्सार प्रज्ञापनपत्रमा मुङ दाल घोषणा गरेको थियो । ‘कन्टेनरको अगाडिपट्टि मुङको दाल र पछाडि पट्टि कन्टेनरबाट गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट करिब ४ सय कार्टुनमा राखिएको फेला परेको थियो,’ एक भन्सार अधिकृतले भने, ‘मुचुल्का उठाएर तत्काल कन्टेनर सिल गरिएको छ ।’

सुक्खा भन्सार कार्यालयका अनुसार प्रज्ञापनपत्रमा आयातकर्ताले २६ हजार ६१० केजी मुङ दाल आयात गरेको घोषणा गरेका छन् । तर, कन्टेनरमा १४ हजार ८२५ केजी मात्र मुङ दाल बरामद भएको छ । नेपालमा बिक्री गर्न नमिल्ने चुरोट भएकोले भन्सारले जफत गरेको छ ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो । गत शुक्रबाट बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्देज लगाइएका वस्तुमा झनै कडाई गर्दै त्यसलाई आगामी भदौ १४ सम्म निरन्तरता दिने निर्णय गरेको छ । आयात पूर्ण प्रतिबन्ध लगाइएका वस्तुमा चुरोट तथा सुर्तीजन्य वस्तु समेत रहेको छ ।

मुङको दाल भनेर चुरोट ल्याएका आयातकर्तालाई भन्सार कार्यालयले पत्राचार गरेपनि हालसम्म सम्पर्कविहीन छन् । सुक्खा भन्सार कार्यालयका अनुसार जाँचपासका लागि प्रज्ञापनत्रको विवरण भर्ने भन्सार एजेन्टको लाइसेन्स ब्लक गरिएको छ ।

आयातकर्तामाथि १० करोड ६६ लाख ६७ हजार रुपैयाँ जरिवाना गरिएको भन्सार कार्यालयले जनाएको छ । भन्सारले सिपिङ कम्पनीमाथि समेत जरिवाना गरेको छ । एउटा सामान भनेर अर्को सामान बोक्ने सिपिङ कम्पनीलाई कन्टेनरको मूल्य बराबर जरिवाना गरिएको सुक्खा भन्सारका सूचना अधिकृत सन्तोषकुमार न्यौपानेले जनाए ।

‘मुङको दाल घोषणा गरी विदेशी चुरोट ल्याएका आयातकर्तालाई १० करोड ६६ लाख ६७ हजार जरिवाना गरिएको छ,’ न्यौपानेले भने, ‘एउटा सामान भनेर अर्को ल्याउने सिपिङ कम्पनीलाई समेत जिम्मेवार बनाउन जरिवाना निर्धारण गरिएको छ ।’

मुङको दाल बोकेको कन्टेनरमा चुरोट बरामद भएको ३ साता बित्दा पनि आयातकर्ता भन्सार कर्मचारीको सम्पर्कमा आएका छैनन् ।

‘आयातकर्ताको एक्जिम कोड ब्लक गरिएको छ,’ सूचना अधिकृत न्यौपानेले भने, ‘हुलाक रजिष्ट्रीमार्फत आयातकर्ताको ठेगानामा पत्राचार गरेका छौं ।’ भन्सार एजेन्ट संघमार्फत पनि आयातकर्तालाई ल्याउने प्रयास भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर