प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह दिँदै महानिरीक्षक सिहंले भने– कामका आधारमा प्रहरी कर्मचारीको मूल्यांकन हुनेछ

नेपाल सरकार मन्त्रीस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ३७ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

दर्ज्यानी चिन्ह पाउनेहरूमा सूचना प्रविधितर्फका प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. अरूणकुमार भण्डारी, स्वास्थ्यतर्फका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. सूरज राना, डा. दीपा न्हुच्छे प्रधान तथा डा. अमिनकुमार श्रेष्ठ र सवारीतर्फका प्रहरी वरिष्ठ उपरीक्षक ई. दिनेश केसी रहेका छन् ।

साथै प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, दानबहादुर कार्की, डा.मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरूण पौडेल, गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री (जिसी), दीपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी रहेका छन् ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई बधाइ ज्ञापन गर्दै पदोन्नतिसँगै प्रहरी अधिकृतहरूले दत्तचित्त भएर सेवाभावका साथ प्राप्त जिम्मेवारी पूरा गरी संगठनप्रतिको श्रीवृद्धिमा लाग्नुपर्ने बताए । प्रहरी संगठनमा अनुशासनको धेरै महत्त्व हुने चर्चा गर्दै यसप्रति सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक सिंहले कामका आधारमा प्रहरी कर्मचारीको मूल्याकंन हुने भएकाले संगठनप्रतिको जिम्मेवारी र आफ्नो व्यावसायिक कार्यकौशलतालाई कायम राखी उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्देशन दिए । साथै उनले पदोन्नति भएका चिकित्सक प्रहरी अधिकृतहरूले बिरामीहरूको सेवा र रोगको निदान गर्न थप जिम्मेवार भएर काम गर्न आग्रह गरे ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. अरूणकुमार भण्डारीले नेपाल प्रहरीमा सूचना प्रविधिको प्रयोग र विकास अब्बल रहेको बताउँदै पूर्ण रूपमा प्रविधियुक्त प्रहरी बनाउनको लागि अझ धेरै कार्य गर्न बाँकी रहेको बताए । साथै उनले प्रहरी संगठन आफैंमा गतिशील संगठन भएकोले प्रहरी कर्मचारीहरू पेशागत रूपमा निपूण हुनुपर्ने र वृत्तिविकासले थप उर्जाशील भई संगठनले दिएको जिम्मेवारी उच्च मनोबल तथा पूर्ण इमान्दारिताका साथ वहन गर्दै संगठनको श्रीवृद्धितर्फ क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर