अर्काको जग्गा आफ्नो नाममा देखाएर बिक्री गर्दै १ करोड २१ लाख ठगी गर्ने पक्राउ

प्रहरीले कीर्ते कागजात बनाई अर्काको जग्गा आफ्नो नाममा देखाएर बिक्री गर्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको साविक जीवनपुर गाविस वडा नं.–५ घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ बस्ने ३७ वर्षीय रविप्रसाद रेग्मी छन् ।

उनले बनेपा–२ बस्ने ज्ञानबहादुर खड्गीलगायत ६ जना व्यक्तिहरूको नाममा बनेपा–१ स्थित चाइना टाउनको बास्केटबल कोर्ट अगाडि रहेको विभिन्न कित्ताको जग्गा नक्कली जग्गा धनीपूर्जा र नक्सा सिट बनाई आफ्नो नाममा देखाएर पीडितरूबाट १ करोड २१ लाख ५० हजार ठगी गरेको खुलेको छ ।

उनले बैनाबापतको रकम लिएर नक्कली राजीनामा कागज, घर, बाटोको सिफारिस पत्र, जग्गाधनी दर्ता प्रमाण पूर्जाजस्ता कागजातको आधारमा जग्गा पास गराएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डिएसपी हरि खतिवडाले बताए ।  जग्गा पास गर्नका लागि मालपोत कार्यालयबाट जारी गरिने जग्गाधनी दर्ता प्रमाण पूर्जासमेत कीर्ते बनाई रेग्मीले ठगी गरेको भन्ने उजुरी परेपछि अनुसन्धानमा खटिएको प्रहरी अधिकृतसहितको टोलीले यस्तो तथ्य बाहिर ल्याएको हो ।

उनले जग्गा पास गर्नका लागि चाहिने कागजातहरू नक्कली बनाई मालपोत कार्यालयका कर्मचारीहरूसँग समेत आफ्नो राम्रो चिनजान रहेको विश्वास दिलाएर पीडितहरूलाई कीर्ते जग्गाधनी प्रमाण पूर्जा दिई ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको तथ्य पुष्टि हुँदै गएपछि पीडितहरूबाट मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम ठगी गर्न नहुने कसूरअन्तर्गत जाहेरी दरखास्त लिएर रेग्मीलाई साउन २ गते बनेपा–९ बाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले रेग्मीको घर खानतलास गरेर कसूरसँग सम्बन्धित प्रमाण लाग्ने नक्कली जग्गाधनी पूर्जालगायतका महत्त्वपुर्ण कागजात, नगद रु.८ लाख ५० हजार फेला पारी बरामद गरेको छ ।

अनुसन्धानका क्रममा लेखापढी व्यवसाय गर्ने काभ्रेको पनौती नगरपालिका–९ बस्ने ४५ वर्षीय राजन थापा र उनकी श्रीमती ४२ वर्षीया सीताकुमारी थापाले कीर्ते कागजात बनाउन सहयोग गरेको खुलेको डिएसपी खतिवडाले बताए । उनीहरू कार्यरत कार्यालयबाट समेत कसूरसँग प्रमाण लाग्ने विभिन्न उपकरणहरू बरामद भएकाे छ ।

पक्राउ परेका रेग्मीमाथि साउन ३ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटना सम्बन्धमा थप अनुसन्धान र घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

रेग्मीविरुद्ध यसअघि २०६८ साउन १४ गते जिल्ला प्रहरी कार्यालय कास्की र २०६९ चैत १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा पनि ठगीसम्बन्धी मुद्दा दर्ता भएको प्रहरी अभिलेखबाट खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर