भन्सार छलेर ल्याएको एक करोडको सामानसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा राजस्व छली गरी भित्र्याएको एक करोड रुपैयाँ बराबरको सामानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–७ साततले बस्दै आएका नवराज शर्मा भन्ने छविलाल अगस्ती छन् ।

काठमाडौं उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट राजस्व छली गरेर सामान ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

अनुसन्धानका क्रममा काठमाडौं महानगरपालिका–७ गोपीकृष्ण नगरमा अगस्तीले कोठा भाडामा लिई भन्सार छलेर ल्याएका सामान भण्डारण गरी उनकी श्रीमतीको नाममा रहेको श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रा.लि. को नामबाट कारोबार गर्ने गरेको खुलेको थियो । त्यसपछि अगस्तीको खोजतलास गर्दै जाँदा बुधबार दिउँसो ३ बजे गोपीकृष्ण नगरस्थित भाडाको गोदाम घरमा उनलाई फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले सोही घरको भुइँतलामा रहेका सटरहरू भाडामा लिई राजस्व छली गरी ल्याएका बिलबिजक नभएका चुरोट, सुर्तीजन्य वस्तुहरू एवं विभिन्न पटकाहरू गोदाम गरी राखेको अवस्थामा फेला परेको कोइरालाले बताए । गोदामबाट प्रहरीले विभिन्न ब्राण्डका वदेशी चुरोटहरू २ हजार ९८० बन्डल, मुर्गा छाप, सन फ्लावरलगायतका विभिन्न किसिमका पटका ४२० के.जी., पानराज गुट्खा ४८ के.जी., बजाजको मोटरसिाइकलको पार्टपूर्जा, इलेक्ट्रोनिक्स चिप्सहरू फिंगर प्रिन्ट अक्सिमिटर ३८० थान बरामद गरेको छ ।

करिब रु. एक करोड बराबरको बजारमूल्य भएका ती सामानसहित पक्राउ परेका अगस्तीलार्ई थप अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर र विस्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गतको मुद्दामा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *