द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित, सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी महिला

द्रौपदी मुर्मू भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । उडिसाका ६४ वर्षकी मुर्मू भारतको सर्वोच्च पदमा निर्वाचिन हुने पहिलो आदिवासी महिला हुन् । भारतको सर्वोच्च पदमा पुग्ने उनी दोस्रो महिला हुन् ।

भारतीय जनता पार्टी (बिजेपी)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले मुर्मूलाई राष्ट्रपति उम्मेदवार बनाएको हो । त्यस समयमा मुर्मू झारखण्ड राज्यको गभर्नर थिइन् । तेस्रो चरणको मतगणना सम्पन्न  हुँदा नै उनले जीतका लागि आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेकी थिइन् । लोकसभा तथा राष्ट्रियसभाका सांसद, प्रदेश विधायकहरुले राष्ट्रपति निर्वाचनका मतदाता हुन् ।

मुर्मूले विपक्षी दलहरुको साझा उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन्। तेस्रो चरणको मतगणना समाप्त हुने वित्तिकै सिन्हाले पनि मुर्मूलाई जीतका लागि बधाई दिए । आदिवासी सन्थाल समुदाय मुर्मूलाई विपक्षी गठबन्धनका कतिपय दलले पनि समर्थन गरेका थिए ।

जीतका लागि आवश्यक पर्ने मत प्राप्त गरे लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उनको निवास पुगेर बधाई दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

निर्वाचनमा जम्मा ४७५४ मतदान भएको थियो । जसमा ५३ मत बदर भएको थियो । उनले २८२४ मत प्राप्त गरेकी हुन् ।

‘भारतले इतिहास लेखेको छ । १ अर्ब ३० करोड भारतीयले आजादी अमृत महोत्सव मनाउँदै गर्दा देशको पूर्वी भागको एउटा दुर्गमको आदिवासी समुदायमा जन्मिएको भारतीय छोरीलाई हामीले राष्ट्रपतिमा निर्वाचित गरेका छौं’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटगर्दै भनेका छन्  ‘यो अदभुत कार्यका लागि श्रीमती द्रौपदी मुर्मूलाई बधाई ।’

यस्तै उनी निर्वाचित भए लगत्तै नेपालबाट समेत राष्ट्रपति बिद्यादेवी भण्डारी प्रधानमन्त्री शेरबहादुर देउवासहित मुख्य राजनीतिक दलका शीर्ष नेता र बुद्वीजिवीहरुले बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।

२० जुन १९५८ मा मयूरभंज जिल्लाको बैदापोसीमा गाउँका मुर्मूको जन्म भएको थियो । उनको पति विरंचीनारायण टुडू गाउँका मुखिया थिए ।

स्नातकसम्मको अध्ययन गरेकी मुर्मूले कुनै समयमा उडिशा सरकारमा ‘क्लर्क’ थिइन् । राजनीतिमा आउनका लागि उनले सो पदबाट राजिनामा दिएकी थिइ्न् ।

उनी सिंचाइ र ऊर्जा विभागमा जुनियर सहायक भएर काम समेत गरिन् पछि उनी शिक्षण पेशामा समेत आबद्ध भइन् ।
उनी भाजपाको टिकटबाट सन् २००० देखि सन् २००९ सम्म दुईपटक उडिसा विधानसभामा निर्वाचित भइन ।
उनले उडिशाको मन्त्रिमण्डलमा समेत काम गरिसकेकी छन् । उनी दुई कार्यकाल विधायक र दुईपटक मन्त्री भइसकेकी छन् ।
सन् २००७ मा उनलाई उडिशामा सर्वश्रेष्ठ विधायकका रुपमा नीलकण्ठ अवार्ड प्रदान गरिएको थियो । उनको पति र दुई छोराको निधन भएको छ । उनको एक मात्रै विवाहित छोरी छिन् ।

जुलाई २५ मा नवनिर्वाचित राष्ट्रपति मुर्मूको सपथग्रहण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *