
७८.३७ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ


७८.३७ ग्राम अवैध लागुऔषध खैरो हेराइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको लखिमपुर जिल्लाको पलिया बस्ने २८ वर्षका सुमित गुप्ता, २४ वर्षका लबि गुप्ता र २७ वर्षका बबि महेन्द्रु रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरवस्तीस्थित नेपाल–भारत खुल्ला सीमा नाकामा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेपछि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन फेला परेपछि पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमध्ये सुमितको साथबाट २४.४७० ग्राम, लबि गुप्ताको साथबाट २५.६४० ग्राम र बबिको साथबाट २८.२६० ग्राम खैरो हेराइन बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
उनीहरूले खल्तीमा सेतो प्लाष्टिकको थैलीभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त लागुऔषधसहित १५ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको डीएसपी शाहले बताए ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा फेरि विश्वासको मत दिँदैछौं : रास्वपा
- भारत र जापानका प्रधानमन्त्रीबीच भेट, इन्डो–प्यासिफिक क्षेत्रमा नयाँ रणनीति अपनाउने घोषणा
- गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैन : देउवा
- राजेन्द्र लिङ्देनको व्यंग्य- वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने दिन नआओस्
प्रतिक्रिया