सार्वजनिक–निजी साझेदारीमार्फत नेपालको पूर्वाधार क्षेत्रको विकासमा तीव्रता दिनुपर्छः प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सार्वजनिक–निजी साझेदारीमार्फत नेपालको पूर्वाधार क्षेत्रको विकासमा तीव्रता दिनुपर्ने बताएका छन् ।

वर्ल्ड एसोसिएसन अफ पब्लिक प्राइभेट पार्टनरसिप युनिट्स एन्ड प्रोफेसनल्स (वाप)का प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री देउवाले पूर्वाधार विकासका क्षेत्रमा सार्वजनिक निजी साझेदारीका परियोजनामा लगानीको प्रचूर सम्भावना रहेको बताए ।

लगानी बोर्डले जारी गरेको विज्ञप्तिअनुसार नेपाल आएका वापका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहित तीन जनाको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री देउवासँग भेट गरेको हो । भेटमा प्रधानमन्त्री देउवाले स्वच्छ र नवीकरणीय ऊर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित शहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्गजस्ता क्षेत्रमा लगानीको सम्भाव्यता रहेको बताएको बोर्डले जनाएको छ ।

भेटमा वापका अध्यक्ष हायेकले पूर्वाधार तथा अन्य व्यावसायिक सम्भाव्यतायुक्त परियोजना कार्यान्वयन गरी सरकारको सेवा प्रवाहलाई अझै चुस्त र गुणस्तरीय बनाउन सकिने बताएका थिए । उनले स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गरी नेपालको दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार गर्ने धारणा राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पीपीपी तथा लगानीसम्बन्धी कानुनी र संस्थागत व्यवस्थामार्फत नेपालले सार्वजनिक–निजी साझेदारीको विस्तार गर्ने प्रयासको उनले सराहना गरेका थिए ।

उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले संस्थागत र व्यावसायिक क्षमता विकासमा वापको सहयोग प्रशंसनीय रहँदै आएको धारणा राखे ।

भट्टले लगानी बोर्डमार्फत ३३ परियोजनाका लागि १० खर्ब ४० अर्ब रुपियाँ लगानी स्वीकृत गरिसकेको जानकारी ििदए । उनले बोर्डको रणनीतिक योजनाअनुसार सन २०२५÷२६ सम्म १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर