मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध गराउन सरकारलाई निर्देशन

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहल गरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सो मेसिन तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गरेको हो ।

मुटुका बिरामीहरूको शल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भीरतापूर्वक लिएर कूटनीतिक पहल गरी त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् । समितिले कोभिड संक्रमण बढ्न थालेकोतर्फ सचेत गराउँदै त्यसको नियन्त्रणका लागि तयारी अवस्थामा रहन पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटेर मेसिन अभाव भएकाले बिरामीहरूको मुटुको शल्यक्रिया गर्ने कामलाई अघि बढाउन नसकिएको स्पष्टीकरण समितिलाई दिएका छन् । उनले रुस–युक्रेन युद्ध र कोरोना संकटका कारण पनि सो उपकरण ल्याउन नसकिएको बताए ।

कार्यकारी निर्देशक अधिकारीले स्वास्थ्य सामग्रीहरूको खरिद प्रक्रियालाई सहज बनाउने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि समितिका सांसदहरूको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर