नेपालमा ९ देशका सुरक्षाकर्मीलाई सशस्त्रको विशेष तालिम

सशस्त्र प्रहरीले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संयुक्त राष्ट्र प्रहरीका लागि नयाँ विशेषीकृत प्रशिक्षण सामग्रीका लागि पहिलो एसियाली संयुक्त राष्ट्र संघले प्रशिक्षकहरूको प्रशिक्षण पाठ्यक्रम प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार तालिमको समापन गरेका छन् ।

संयुक्त राष्ट्र प्रहरीको शान्ति संचालन विभागको एकीकृत प्रशिक्षण सेवा र अन्तर्राष्ट्रिय नार्कोटिक्स र कानून प्रवर्तन मामिलाको अमेरिकी राज्य ब्यूरोको सहकार्यमा प्रतिष्ठानले तालिम संचालन गरेको हो ।

तालिमले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ मिसनको लागि जाने अधिकारीहरुको तैनाथी पूर्व तालिम प्रदान गरी क्षमता अभिबृद्धि गर्न थप मद्दत पुर्याउने विश्वास महानिरीक्षक अर्यालले ब्यक्त गरेका छन् ।

उनले तालिमा सहभागी सदस्य राष्ट्रका प्रशिक्षार्थीहरु बीच उत्साहजनक छलफल र एक आपसमा ज्ञानको आदान–प्रदान भएको र यसले संयुक्त राष्ट्रसंघको म्याण्डेटमा रहेर द्वन्द्वग्रष्त मुलुकमा शान्ति सुरक्षा बहाली गर्न तथा मानव सेवा कार्यमा खटिईने अधिकारीहरुलाई थप टेवा पुग्ने बताए ।

दश दिनसम्म संचालन भएको प्रशिक्षक प्रशिक्षण तालिममा नेपाल, अष्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, किर्गिज गणतन्त्र, मलेसिया, मंगोलिया, श्रीलंका र टर्की गरी ९ देशका कुल २४ जना प्रहरी अधिकृतहरु सहभागी रहेका थिए ।

कार्यक्रममा यूएस एम्बेसीका विशेष अतिथि म्यानुयल पी. मिकलर जुनियर, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, अष्ट्रेलियन एम्बेसीका प्रतिनिधि पावल म्याकअर्न, प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ्ग, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु बंशीराज दाहाल र कालिदास धौवजी, एकीकृत प्रशिक्षण सेवाका प्रशिक्षकहरु लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर