निशालाई जसले अन्माएर ल्याए, उनैले ६ महिनामै हत्या गरेर जमिनमुनि गाडे

अपराधीहरू आफूले गरेको अपराध लुकाउन कतिसम्म गर्न सक्छन् भन्ने कुराको ज्वलन्त उदाहरण हो– सर्लाहीको निशा यादव हत्याकाण्ड ।

घटना हो– गत जेठ २२ गतेको । महोत्तरीको सोनमा गाउँपालिका–१ मगरथाना माइतीघर भई सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरका बालदत्त भन्ने रमजेशकुमार रायसँग गत वर्ष फागुनमा विवाहबन्धनमा बाँधिएकी २० वर्षीया निशा यादव आफ्नै घर शीतलपुरबाट बेपत्ता भइन् ।

उनी हराएकाले खोजतलास गरी पाऊँ भनी उनका बुबा कैलाश राय यादवले जेठ २३ गते र ससुरा रामप्रताप रायले जेठ २४ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हुलिया निवेदन दिए ।

निवदेन परेपछि विवाहबन्धनमा बाँधिएको ६ महिना नबित्दै बेपत्ता भएकी निशाको प्रहरीले खोजी सुरु गर्‍यो । हराएको ४७ दिनसम्म खोजी गर्दा पनि प्रहरीले निशालाई फेला पार्न सकेन ।

निरन्तरको खोजपछि पनि निशा फेला नपरेपछि प्रहरीलाई निशाको ससुराली पक्ष र माइती पक्षका सदस्यहरूमाथि नै शंका लाग्यो । र, घरपरिवार तथा शंकित व्यक्तिहरूसँग सोधपुछ र त्यसको प्रविधियुक्त विश्लेषण गर्‍यो।

प्रहरीले घटना सम्बन्धमा निशाका श्रीमान रमजेशकुमार, ससुरा रामप्रताप र देवर राजु यादवसँग सोधपुछ गर्दा उनीहरूले निशालाई कर्तव्य गरी मारेको र आफ्नो घरदेखि करिब ४ किलोमिटर पूर्व–उत्तरतर्फ रहेको आफ्नै २ कठ्ठा क्षेत्रफल भएको खेतमा खाल्डो खनी लाश पुरेको भनी प्रहरीलाई बताए ।

त्यसपछि परिचालित प्रहरी टोलीले खेतमा खाल्डो खनेर गाडिएको निशाको शव उत्खनन् गर्‍यो । उत्खनन् गर्दा निशाको शव पहिचान गर्नै नसकिने हाडखोर मात्रै रहेको अवस्थामा फेला परेको र शव पहिचानका लागि उनको डीएनए टेस्ट गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले बताए ।

निशा यादवको हत्यामा संलग्न उनका श्रीमानसहित परिवारका सदस्यलाई सार्वजनिकगर्दै सर्लाही प्रहरी ।

 

यसरी निशाको हत्यामा संलग्न उनका श्रीमान रमजेशकुुमार र देवर राजु त पक्राउ परे नै, आफूले गरेको अपराध लुकाउन निशा हराएको भनी प्रहरीकहाँ निवेदन दिने ससुरा रामप्रताप पनि प्रहरीको फन्दामा परे ।

यहाँ हत्यामा संलग्न स्वंयले हराएको भनी निवेदन दिएपछि प्रहरीलाई घटनाको सत्यतथ्य पत्ता लगाउन थप मुस्किल परेको सहजै अनुमान लगाउन सकिन्छ । त्यसमाथि वास्तविकता खुल्नुअघि हराएको भनिएकी निशा फेला नपर्दाको अवस्था त झनै जटिल बन्ने भइहाल्यो ।

‘पक्राउ परेकाहरूले अहिले फरकफरक बयान दिइरहेका छन्,’ एसपी पोखरेलले पर्दाफाससँग भने, ‘कसैले आफूले नै हत्या गरेको, कसैले निशा आफैँले झुन्डिएर आत्महत्या गरेको त कसैले बेहोश भई ढलेर मरेको बताइरहेका छन् ।’

पोखरेलकाअनुसार हत्या के कारणले र कसरी भयो भन्ने नखुलेकाले थप बुझ्ने काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *