नागरिकता विधेयक माओवादीकै कारण सम्भव : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको बताएका छन् । लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा आफूले पटकपटक प्रतिबद्धता जनाएको र अब त्यो व्यावहारिक रूपमा कार्यान्वयन भएको प्रचण्डको भनाइ छ ।

सर्लाहीको बागमती नगरपालिका सोल्टीबजारमा एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शुक्रबार पारित नागरिकता विधेयक माओवादीकै कारण सम्भव भएको दाबी गरे ।

“तपाईँहरूले माओवादी पार्टीलाई बलियो बनाएर आउने दिनमा यहाँका जनताको हकअधिकार, पहिचान र विकास समृद्धि र समाजवादका निम्ति योगदान गर्नुहुनेछ”, उनले भने, “नेपालको राष्ट्रिय एकतालाई बलियो पार्नका लागि छिमेकी देश चीन र भारतसँग सन्तुलित राम्रो सम्बन्ध बनाउनुपर्छ ।”

मधेसी जनताको चाहनाअनुरूप मधेशको शिक्षा, स्वास्थ्य, सडक संरचना माओवादी केन्द्रको अगुवाइमा विकासका काम हुने उनले दाबी गरे ।

“चीन सरकारको एउटा टोलीसँग र भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्षको निम्तोमा भारतमा गएर सरकारका प्रतिनिधि र पार्टीका प्रतिनिधिसँग स्पष्ट छलफल भएको छ”, पूर्वप्रधानमन्त्री दाहालले भने, “नेपालको राष्ट्रिय हितका निम्ति, नेपाली जनतको विकास र समृद्धिका निम्ति मैले दुवै छिमेकीबाट त्रिदेशीय सम्झदारी बनाउने, दुवैबाट सहयोग जुटाउने कोसिस पार्टीले गरिरहेको छ ।”

अध्यक्ष दाहालले संघीयतालाई बदनाम र कमजोर पार्ने काम भइरहेकाले मधेशका जनता सजग भएर संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई आगामी चुनावमा मत दिनुपर्ने बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता प्रल्हाद बुढाथोकीलगायतले जनताका बीचमा गएर पार्टी गतिविधिका बारेमा प्रचारप्रसार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर