महिलाहरूलाई उनीहरूको सपनाहरू पछ्याउन प्रेरित गर्नसके मेरो काम सार्थक हुनेछः सुडानबाट क्याप्टेन शिचन मोक्तान

‘म मेरो छोरालाई मप्रति गर्व गरेको हेर्न चाहन्छु । म जब कठिन परिस्थितिको सामना गरिरहेकी हुन्छु, म उसलाई सम्झन्छु । मैले यहाँ केही फरक र उत्कृष्ट गर्नुछ । ताकि धेरै महिलाहरूमा आत्मविश्वास जागोस् कि आखिर महिलाले जे चाहन्छिन्, त्यो गर्न सक्छिन्’– हामीसँगको भेटमा नेपालको प्रतिनिधित्व गर्दै शान्ति सेनाको साउथ सुडान मिशनमा खटिएकी सहसेनानी (क्याप्टेन) शिचन मोक्तानले भनिन् ।

साउथ सुडानमा उनीजस्तै ६९९ नेपाली शान्ति सैनिक खटिएका छन् । यो विशेष (मेडल परेड)  दिनमा उनीहरू आफ्नो पहाडी देशजस्तै यो छिमेकी देशका लागि पनि गर्व गर्न चाहन्छन् । उनीहरू सबै सुडानको रुम्बेक केन्द्रित छन् । र, उनीहरू धेरैले संयुक्त राष्ट्र संघबाट मेडल र प्रशंसा पाएका छन् ।

शिचनले आफ्नो अध्ययन वातावरण विज्ञानबाट सुरुवात गरेकी थिइन् । तर, धेरै भावीले जन्मदै लेखेको हुन्छ भन्ने नेपाली विश्वासजस्तै उनी पनि परिवारकै रुखको एउटा हाँगा न थिइन् । उनलाई पनि समयले एउटा चम्किलो धातुमा गर्व गर्ने बनाएको छ । यसमा उनकी दिदीको भूमिका र प्रेरणाले पक्कै पनि काम गरेको हुनुपर्छ ।

‘म भाग्यमानी हुँ, मेरो परिवारमा एक जना रोल मोडल पहिले नै हुनुहुन्थ्यो । मेरी दिदी नेपाली सेनाको पहिलो महिला अधिकृत बन्नुभयो । अहिले त हामी धेरै महिलाहरू नेपाली सेनामा छौं । मलाई सधैं यो प्रतिशत बढाउने इच्छा थियो,’ उत्साहित हुँदै शिचनले भनिन् ।

३२ वर्षीय सहसेनानी शिचन जवान, आकर्षक र आत्मविश्वासी छिन् । उनी सन् २०१२ मा अधिकृतका रूपमा नेपाली सेनामा भर्ना भएकी थिइन् । यो छोटो उमेरमा उनको वर्दीले धेरै अनुभव गरेको छ ।

सुडानको रुम्बेकमा रहेका उनका कमाण्डरले यसको महत्त्व बुझेका छन् । त्यसैले उनलाई दक्षिण सुडानी भूमिमा दलको महिला संलग्नता टोलीको नेतृत्व गर्न नियुक्त गरे ।

३ वर्षीय अबोध छोरासहित परिवार, इष्टमित्र र साथीभाहरूलाई छोडेर सुडानको मरूभूमिमा आउनु त्यति सहज थिएन। तर, शिचनलाई थाहा थियो, यो अवसर आफूलाई प्रमाणित गर्नुका लागि थियो । त्यसैले उनले अहिले परिश्रमका साथ आफ्नो जिम्मेवारी र दायित्व पूरा गरिरहेकी छन् ।

‘यो निलो हेल्मेटले सुनिश्चित र सुन्दर सुरक्षित भविष्यको प्रतिनिधित्व गर्दछ । र, म तीमध्ये एक हुँ जसले विश्व शान्ति र सुरक्षाका लागि योगदान गरिरहेको छ । मैले मेरो सपना पूरा गरिरहेकी छु । केही भावुक अवश्य छु,’ शिचनले मुस्कुराउँदै भनिन् ।

हामीसँगको कुराकानीमा शिचनको बोलीमा आत्मविश्वास र उत्प्रेरणा थियो । उनको मान्यता भनेको सपनासँगै परिश्रम र लगन भए सबै कुरा सम्भव छ भन्ने थियाे । पहिलो कुरा आफैंलाई विश्वास गर्न जान्नुपर्छ । यसले असम्भवलाई सम्भव बनाउन दोहोरो भूमिका खेल्छ ।

‘हाम्रा दक्षिण सुडानी दिदीबहिनीहरू हामीबाट प्रेरित देखिन्छन्। मलाई विश्वास छ कि उनीहरूलाई लाग्छ कि हामी साहसी छौं किनभने हामी परम्परागत पुरातन सोचहरूमा बाँच्दैनौं,’ क्याप्टेन मोक्तानले शान्ति सेनाको क्यारियरको एक परिवर्तनकारी क्षण सम्झँदै भनिन् ।

‘हामीले मेपेरमा महिलाहरूको आन्तरिक सरसफाइसम्बन्धी कक्षा सञ्चालन गरिरहेका थियौं । जब मैले एउटी केटीले आफ्नो आँखामा यो अविश्वसनीय चमक लिएर मलाई हेरिरहेको देखेँ, अनि मैले उनीसँग कुरा गरेँ । मैले महसुस गरेँ कि उनी महिला शान्ति सैनिकहरूको अस्तित्वबाट प्रभावित थिए । र, जब मैले कम्तीमा एउटी केटीलाई उनको सपनाहरू पछ्याउन प्रेरित गर्न सक्छु भने, दक्षिण सुडानमा मेरो समय सार्थक हुनेछ भनेर मैले बुझेँ,’ शिचनले भनिन् ।

सहसेनानी शिचनको महिला संलग्नता टोली चाँडै आफ्नो मिशन पुरा गरेर नेपाल फर्कनेछ । तर, त्यसअघि उनको टिमको बाह्य गतिविधिको एउटा पक्ष यौन शोषण र दुर्व्यवहारसम्बन्धी संयुक्त राष्ट्रको शून्य सहनशीलता नीतिमा त्यहाँका समुदायका महिलाहरूमा चेतना जगाउनुछ । उनीहरूलाई उत्प्रेरित गर्नुछ ।

‘हामीलाई शान्ति स्थापनामा थप वर्दीधारी स्थानीय महिला कर्मचारीहरू चाहिने एउटा कारण हो– उनीहरूले आफ्नो संघर्षको बारेमा हामीलाई विश्वास गर्छन् र खुला हुने सम्भावना धेरै हुन्छ। हामीसँग, उनीहरू लैंगिक हिंसाको बारेमा बोल्ने साहस गर्छन्, जुन दुर्भाग्यवश यहाँ धेरै सामान्य छ,’ उनी भन्छिन्।

संयुक्त राष्ट्र महासचिवका अनमिश उपविशेष प्रतिनिधि र पदक समारोहमा भाग लिएका गुआंग कंगले उनीहरूको कामको प्रशंसा गरे तर सँगै शान्ति सैनिकहरूले सबैलाई पर्खिरहेको बताउँदै आफ्नो भाषणको अन्त्य गरे।

‘यी पदकहरूले शान्तिको लागि तपाइँको व्यक्तिगत बलिदानको पहिचानको रूपमा काम गर्दछ। संयुक्त राष्ट्र संघका योग्य राजदूतको रूपमा जहाँ जानुहुन्छ, गर्व र सम्मानका साथ तिनीहरूलाई लगाउनुहोस्,’ संयुक्त राष्ट्र संघको मेडल परेडमा उनले भने ।

(संयुक्त राष्ट्र संघका लागि नीना जुबोभिक विग्जेभिक र फिलिप एन्डरसनले तयार पारेको रिपोर्टको भावानुवाद )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *