भक्तपुर सल्लाघारी दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत, घाइतेको उपचार हुँदै

भक्तपुरको भक्तपुर नगरपालिका–१ सल्लाघारीमा गुडिरहेको बस र स्कुटरलाई किच्दा मृत्यु भएकाहरूको परिचय खुलेको छ ।

आइतबार मध्याह्न १२ बजेतिर काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा२ख ३५८४ नम्बरको बस र बा६१प ३९७८ नम्बरको स्कुटरलाई सल्लाको रुख ढलेर किचेको थियो । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । मृत्यु भएका तीनमध्ये एक जना स्कुटर चालक र दुई जना बसमा सवार यात्रु रहेको खुलेको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुर र नेपाली सेनासमेतबाट खटिएको टोलीले घाइते भएका १५ जनाकोे उद्धार गरी उपचारको लागि ७ जनालाई भक्तपुर इन्टरनेशनल अस्पताल र ८ जनालाई डा. ईवामुरा अस्पताल लगेकोमा तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा, स्कुटर चालक सर्लाही हरिवन नगरपालिका–४ घर भएका ४५ वर्षीय राजकुमार भुजेल र भक्तपुर नगरपालिका–७ घर भई चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ५५ वर्षीय न्हुच्छेराम बखत्यो रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीकाअनुसार अन्य १२ जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *