
नाडा अटो शो अनिश्चितकालका लागि स्थगित


नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ । नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो ।
नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो । सरकारले साउन १ गतेदेखि सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो शो को तयारी थालेको नाडाले प्रतिबन्ध लम्बिएसँगै अटो शो स्थगन गरेको हो ।
देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गते राजपत्रमा सूचना प्रकाशन नै गरी १५० सीसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर र चार पांग्रे सवारीसाधन आयातको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ ।
सरकारले प्रतिबन्ध लम्ब्याएसँगै नाडाले आयोजना गर्न लागेको अटो शो केही समयका लागि स्थगन गरिएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।
“सरकारले भदौ १४ गतेबाट सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाए पनि हामीले दशैँ अगाडि अटो शो गर्न नसक्ने भयौं, अटो शो आयोजना गरेरमात्र हुँदैन, शोमा देखाउन गाडी ल्याउन सक्ने अवस्था नै नभएपछि हामीले अनिश्चितकालका लागि अटो शो स्थगनको निर्णय गरेका हौँ,” उनले भने ।
महासचिव उप्रेतिकाअनुसार सवारीसाधन आयातमा सहज हुँदा भारतबाट गाडी ल्याउनमात्र डेढ महिना लाग्छ भने अन्य देशबाट नेपालमा गाडी आयात गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गर्छ ।
- राजेन्द्र लिङ्देनको व्यंग्य- वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने दिन नआओस्
- राष्ट्रिय सहमितबारे एमालेलाई माओवादीको जवाफ- पहिलो ठूलो दल कांग्रेसलाई धरहराबाट हेर्नुपर्ने कि सगरमाथाबाट?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न- अर्कोचोटि विश्वासको मत लिने कार्यसूची कहिले छ?
- प्रधानमन्त्रीले वैदेशिक सम्बन्ध बिगार्नुभयो, विश्वासको मत दिँदैनाैं : ओली
प्रतिक्रिया