चार वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, बालकसहित तीन जना पक्राउ

चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा एक बालकसहित तीन जना पक्राउ परेका छन् ।

पर्साको वीरगंज महानगरपालिका–२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका–१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक शनिबार पक्राउ परेका हुन् ।

बिहीबार साँझदेखि बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वीरगंज महानगरपालिका–२ छप्कैयास्थित खाली जग्गाको झाडीमा ती बालिकाको शव फेला परेको थियो ।

घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी सोधपुछको क्रममा बालक र अन्य तीन जनाको संलग्नतामा ती बालिकालाई जबरजस्ती करणीपश्चात् हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी प्रह्लाद कार्काले जानकारी दिए ।

उनकाअनुसार घटनामा संलग्नमध्ये सलमान खानलाई सोही महानगरपालिका–२ घुसुकपुरबाट तथा १८ वर्षीय किशोरलाई सोही महानगरपालिका–१६ नगवास्थित सडकबाट पक्राउ गरिएको हो ।

उनीहरूमाथि जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान र घटनामा संलग्न रहेका फरार एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *