चिनियाँ अपराध सञ्जाल तोड्दै प्रहरी : रुपन्देहीपछि काठमाडौंको कल सेन्टरमा छापा

चिनियाँ माफियाको लगानीमा नेपाली भूमि प्रयोग गरी भइरहेको अपराध सञ्जाल तोड्न प्रहरीले सक्रियता बढाएको छ । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ जानकीनगरमा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर एक भारतीय नागरिकसहित ९ जना जनालाई पक्राउ गरेको प्रहरीले सोमबार काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिककै लगानीमा सञ्चालित कल सेन्टरमा छापा मारेको छ ।

कल सेन्टर सञ्चालन गरी साइबर अपराध गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा तीनकुनेमा छापा मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहोराले पर्दाफासलाई बताए ।

उनका अनुसार एक घर भाडामा लिएर उनीहरूले कल सेन्टर चलाइरहेको पाइएको छ । अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको बोहोराले बताए । उनले बिस्तृत विवरण केही समयमै सार्वजनिक गरिने बताए ।

आइतबार मात्रै रुपन्देहीमा ३ वटा फ्ल्याट भाडामा लिई कल सेन्टर खडा गरेर ठगी गरेको सूचनापछि छापा मारेर प्रहरीले एक भारतीय नागरिकसहित ९ जनालाई नियन्त्रणमा लिनुका साथै त्यहाँ काम गर्ने २ सय भन्दा बढीसँग सोधपुछ गरेको थियो ।

पक्राउ परेकाहरू कल सेन्टरको लगानीकर्ता र सहजकर्ता रहेको प्रहरीले जनाएको छ । उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको छ ।

कल सेन्टरमार्फत ठगिनेमा सबै भारतीय नागरिक छन् । भारतीयको आधार कार्ड, स्थायी लेखा नम्बर र बैंक खाता नम्बर माग्दै ठगी गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।

ठगीकै लागि चिनियाँहरूले बनाएको एप्समार्फत ऋण लिन सकिने भन्दै विज्ञापन नै गरिएको थियो । उक्त विज्ञापनमार्फत भारतीय नागरिकहरू त्यो एप्लिकेशनमार्फत कम्पनीको सम्पर्कमा आउने र चिनियाँ नागरिकमार्फत ऋण लिने गर्दथे । एप्समा निवेदन गरेपछि खाता नम्बर माग्ने र चिनियाँ नागरिकले खातामा रकम पठाइदिने गरेको पाइएको छ ।

सेन्टरबाट भारतीय सर्वसाधारणलाई थोरै रकमको कर्जा दिने र तोकिएको भाकामा फिर्ता नगरे पीडितको मोबाइल ह्याक गरी अश्लील तस्वीर/भिडियो पठाएर ब्ल्याकमेल गर्ने गरेको बुझिएको छ । जसका लागि गिरोहले कर्जा दिनुअघि आफैंले निर्माण गरेको व्हाट्स एपजस्तै एप डाउनलोड गर्न लगाएर मोबाइल ह्याक गर्ने गरेको पाइएको छ ।

पक्राउ परेकाहरूले प्रारम्भिक बयानमा यसका नाइके चिनियाँ भएको र केही नेपालीसँगको साँठगाँठमा धन्दा फैलिएको बताएका छन् । जसमा केही पत्रकारसमेत सहयोगी रहेको उनीहरूले खुलाएका छन् ।

यसअघि गत वर्ष पनि यस्तै किसिमले काठमाडौंको मध्य बानेश्वर र भक्तपुरको सानोठिमीमा नेपालीका नाममा कम्पनी खोलेर चिनियाँहरूले भारतीयहरूलाई ठगी गर्ने गरेको पाइएको थियो ।

फागुन ८ गते मध्य बानेश्वरबाट ३६ नेपालीसहित एक चिनियाँ नागरिक पक्राउ परेकोमा त्यसको भोलिपल्ट फागुन ९ गते सानोठिमीबाट एक चिनियाँ नागरिकसहित ८० जना नेपाली समातिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर