![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
तीनकुने कल सेन्टर प्रकरण : एक चिनियाँ, २ भारतीय र ३३ नेपाली पक्राउ
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
प्रहरीले काठमाडौंको तीनकुनेस्थित कल सेन्टरमा छापा मारेर एक चिनियाँ, दुई भारतीय र ३३ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
चिनियाँ माफियाको लगानीमा नेपाली भूमि प्रयोग गरी भइरहेको अपराध सञ्जाल तोड्न सक्रियता बढाएको प्रहरीले तीनकुनेको गैह्रीगाउँमा व्यवसायी सूरज वैद्यको घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरत बोहराका अनुसार कल सेन्टर खडा गरी अनलाइनमार्फत चर्को ब्याजमा ऋण प्रवाह गर्ने र तोकिएको भाकामा फिर्ता नगरे सामाजिक सञ्जालमार्फत ऋणीको चरित्रहत्या गर्ने, धम्क्याउने गरी ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
सोमबार दिउँसो तीनकुनेमा कल सेन्टरमा छापा मार्न गएको प्रहरीलाई अवरोध गर्न खोज्ने ७ जना महिला पक्राउ परेका थिए । उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त, गौशालामा राखिएको छ ।
आइतबारमात्रै प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ जानकीनगरमा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर एक भारतीय नागरिकसहित ९ जनालाई पक्राउ गरेको थियो भने त्यहाँ काम गर्ने २ सय भन्दा बढीसँग सोधपुछ गरिएको थियो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसअघि गत वर्ष पनि काठमाडौंको मध्य बानेश्वर र भक्तपुरको सानोठिमीमा नेपालीका नाममा कम्पनी खोलेर चिनियाँहरूले भारतीयहरूलाई ठगी गर्ने गरेको पाइएको थियो । फागुन ८ गते मध्य बानेश्वरबाट एक चिनियाँ नागरिकसहित ३६ जना नेपाली पक्राउ परेकोमा त्यसको भोलिपल्ट फागुन ९ गते सानोठिमीबाट एक चिनियाँ नागरिकसहित ८० जना नेपाली समातिएका थिए ।
प्रतिक्रिया