प्रचण्डको बढ्दो गतिविधि, कांग्रेसको मनमा चिसो

भारत भ्रमणबाट फर्के लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड ‘समाजवादी केन्द्र’ निर्माणमा देखिन्छ । त्यसका लागि प्रचण्डले आफ्नो गतिविधिहरुलाई तीव्र रुपमा अघि बढाउँदा गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस झस्किन पुगेको छ । प्रचण्डको अस्थीर चरित्रसँग परिचित कांग्रेस मंसिरमा हुने आमनिर्वाचनपछि सत्ता नेतृत्व गर्ने अवसर गुमाउन चाहँदैन ।

अहिलेसम्म कांग्रेसका नेताहरुले त्यस विषयमा औपचारिक रुपमा मुख नखोलेपनि प्रचण्डको बढ्दो गतिविधिलाई चासोका साथ हेर्दै आएका छन् ।

दाहालले प्रत्येक दिन जस्तो नेकपा एमाले बाहेक अन्य वामपन्थी दलका नेताहरुसँग भेटघाट गर्दै आएका छन् । प्रचण्ड उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा)सहितको समाजवादी केन्द्र बनाउने पक्षमा रहेका छन् ।

तर यादव निकट स्रोतहरुले भने समाजवादी केन्द्रप्रति यादव अनिच्छुक रहेको बताएका छन् । जसपाबाट निकालिएका बाबुराम भट्टराई भने त्यसको पक्षमा रहेका छन् । समाजवादी केन्द्र निर्माणको प्रस्ताव शुरुमा भट्टराईले नै अघि सारेका थिए ।
सोमबार मात्रै उनले एकता अभियानका संयोजक गौतमसँग सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा लामो छलफल गरेका थिए ।

जसमा दुवै नेताहरुबीच समाजवादी केन्द्रले लिने नीति र मतभिन्नता कम गर्ने विषयमा छलफल गरेको गौतम निकटका नेताहरुले बताएका छन् । गत साता पनि प्रचण्डले पूर्व प्रधानमन्त्री भट्टराई र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संयोजक गौतमसँग समाजवादी केन्द्र निर्माणको विषयमा छलफल गरेका थिए ।

स्थानीय चुनावपछि निर्णायक शक्तिको रुपमा माओवादी देखिएपछि उत्साहित बनेका प्रचण्डको पछिल्लो समयमा दौडधूपले गति पाएको हो ।

गत केन्द्रीय समितिको बैठकबाट पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको कांग्रेसले एकल बहुमतका लागि प्रयास गर्ने बताउँदै आएको छ ।

‘कांग्रेसले एकल बहुमतको ल्याउने निर्णय गरेको छ । तर मा‌ओवादी अध्यक्ष प्रचण्ड भने आफ्नो सहभागिता बिना चुनाव पछि कुनै पनि सरकार निर्माण नहुने अवस्था सिर्जना गर्न चाहेका छन’ कांग्रेसका एक नेताले भने, ‘प्रचण्डको अस्थिर चरित्र अहिलेका लागि चिन्ताको विषय हो। तर अहिले नै गठबन्धनमा जोखिम पर्छ भन्ने लाग्दैन ।’

अहिले प्रचण्ड कांग्रेस र एमाले दुवैमाथि दवाव सिर्जना गर्नका लागि ‘समाजवादी केन्द्र’ निर्माणमा जोड दिँदै आएको बुझाइ कांग्रेसको छ ।

‘आमनिर्वाचन कांग्रेससँग बढी भन्दा बढी सीटमा दावी गर्नका लागि पनि मोर्चाबन्दी भएको देखिन्छ,’ ती नेताले भने ।
प्रचण्डले समाजवादी केन्द्रको माध्यमबाट आमचुनावपछि प्रधानमन्त्रीको कार्यकालमा पनि बाँडफाँट खोजेका छन् ।

चुनावको मिति घोषणा पूर्ण नै सीट बाँडफाँट र प्रधानमन्त्रीको कार्यकाल सुनिश्चित गर्न चाहेको बुझाइ कांग्रेसभित्र रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *