एटीएम फुटाएर नगद चोरीको शृंखला बढ्दै, पर्साबाट एटीएम फुटाउँदै गर्दा दुई जना पक्राउ

बैंकको एटीएम मेसिन फुटाएर नगद चोरीको शृंखला बढ्दै गएको छ । कास्कीको पोखरामा एक अज्ञात व्यक्तिले एटीएमम मेसिन फुटाएर १५ लाख रुपैयाँ चोरी गरेको एक हप्ता नबित्दै पर्साको वीरगञ्जमा एटीएम फुटाइरहेकै अवस्थामा दुई जना पक्राउ परेका छन् ।

आइतबार राति वीरगञ्ज महानगरपालिका–८ स्थित माछापुच्छ्रे बैंकको एटएीम मेसिन फुटाउँदै गरेको बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ का २५ वर्षीय अजय चौधरी र बाराकै कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपूर चौधरी पक्राउ परेका हुन् ।

बैंकको एटीएम मेसिन फुटाउँदै गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पोखरा महानगरपालिका–२६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटीएम मेसिन फुटाएर गत बुधबार राति १५ लाख रकम चोरी भएको थियो । चोरी गर्ने व्यक्तिको हालसम्म पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान र चोरी गर्नेको खोजतलास भइरहेको बताए ।

चोरले मेसिन फोरेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो । बैंकले अघिल्लो दिन एटीएममा रु. १७ लाख राखेकामा रु. दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइएको छ ।

पोखरासहितका स्थानमा केही दिनयता बैंकको एटीएम मेसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन् । गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआईसी एशिया बैंकको एटीएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर