निर्मला पन्तको हत्यारा पत्ता लगाई दोषीलाई कारबाही गर्न सांसदहरूको माग

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई पत्ता लगाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बैठककाे शून्य समयमा बाेल्दै सांसद केदार सिग्देल र गंगा चौधरी सदगौवाले निर्मला निर्मला पन्तको हत्या भएको चार वर्ष बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी कारबाही गर्न सरकारसमक्ष माग गरे ।

यस्तै सांसदहरूले बेपत्ता परिवारलाई चाँडोभन्दा चाँडो परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बेपत्ता छानबिन आयोगबाट सिफारिस भएर आएका फाइल अघि बढाई पीडितलाई राहत दिन माग गरेका छन् ।

सांसद आशाकुमारी विकले १७ वर्ष पुगिसक्दा पनि बेपत्ता परिवारले परिचयपत्र पाउन नसकेको भन्दै तत्काल परिचयपत्रको व्यवस्था गरी पीडितलाई राहत दिन सरकारसमक्ष माग गरिन् ।

सांसद इन्दुकुमारी शर्माले अहिले नेपालमा पाँच लाखभन्दा बढी नेपाली गैरकानुनी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको र यसले बैंक तथा वित्तीय क्षेत्रमा पैसा अभाव हुन थालेको भन्दै यसलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिइन् ।

सांसद कमला रोक्काले रुकुमपूर्वको देउखोलादेखि चीनको नाकासम्म जोड्ने रणनीतिक महत्त्वको सडक निर्माणमा ढिलाइ भइरहेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराइन् ।

सांसद कलिला खातुनले गण्डकी प्रदेशका हरेक क्षेत्रमा गरिएको कर वृद्धिले जनतालाई समस्या भएको भन्दै संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गरेर कर वृद्धि रोक्न गराइन् ।

सांसद कुमारी मेचेले किसानलाई चाँडो मल उपलब्ध गराउन माग गरिन् ।

सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौँको नागार्जुन नगरपालिका–८ मा हालै चितुवाको आक्रमणबाट एकै परिवारका धेरै व्यक्ति घाइते भएको र उक्त क्षेत्रको बफरजोनको पर्खाल भत्किएकाले जंगली जनावार गाउँ पस्ने क्रम बढिरहेकाले मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद कृष्णकुमार दाहालले काठमाडौँको वैकल्पिक राजमार्गका रूपमा रहेको कान्तिपथ निर्माणमा किन ढिलाइ भइरहेकोमा सरकारको ध्यानकर्षण गराए ।

सांसद कृष्णबहादुर राईले मतदाता नामावली संकलन कार्यलाई सहज तुल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद खेमप्रसाद लोहनीले अरुण खोलाको बाढीबाट २४ वर्षीया शर्मिला राना मगरको निधन भएको भन्दै घटनाका पीडितलाई राहत दिन माग गरे ।

सांसद गजेन्द्रबहादुर महतले सुर्खेत–जुम्ला सडक समयमै कालोपत्र गर्न माग गरे ।

सांसद गणेशकुमार पहाडीले सार्वजनिक सुनुवाइलाई कागजरहित बनाउने चालु आवको बजेटमा व्यवस्था भए पनि अझै कार्यान्वयन नभएको भन्दै राहदानी, राष्ट्रिय परिचयपत्रलगायत महत्त्वपूर्ण कागजात पूर्ण डिजिटलाइज गर्नुपर्ने माग गरे ।

सांसद गोमा देवकोटाले किसानले मल र विद्यार्थीले अझै पुस्तक नपाएको भन्दै तत्काल सहजीकरण गरिदिन सरकारसँग आग्रह गरिन् ।

सांसद घनश्याम खतिवडाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाइनुर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर