ठगी गरेको आरोपमा ठमेलबाट एक चिनयाँसहित चार जना पक्राउ

काठमाडौं महानगरपालिका–२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकसहित चार जना पक्राउ परेका छन् ।

उक्त स्थानमा अनलाइन ग्याम्बलिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चिनियाँ नागरिक ४८ वर्षीय सु सुजिसहित चार जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४ सय ७२ थान मोबाइल, २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्ट सेलको सिमकार्ड, १० थान पेनड्राइभ र १ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड बरामद गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

पछिल्लो समय प्रहरीले नेपालमा भइरहेको चिनियाँ अपराध सञ्जाल तोड्न सक्रियता बढाएको छ ।

यसअघि प्रहरीले सोमबार काठमाडौंकै तीनकुनेस्थित कल सेन्टरमा छापा मारेर एक एक चिनियाँ, दुई भारतीय र ३३ नेपाली तथा आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित कल सेन्टरबाट ९ जनालाई नियन्त्रणमा लिएको थियो ।

गत वर्ष पनि काठमाडौंको मध्य बानेश्वर र भक्तपुरको सानोठिमीमा नेपालीका नाममा कम्पनी खोलेर चिनियाँहरूले  ठगी गरेको पाइएको थियो ।

फागुन ८ गते मध्य बानेश्वरबाट एक चिनियाँ नागरिकसहित ३६ जना नेपाली पक्राउ परेकोमा त्यसको भोलिपल्ट फागुन ९ गते सानोठिमीबाट एक चिनियाँ नागरिकसहित ८० जना नेपाली समातिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर