बिगेसोको मागबारे संसदीय समितिले परराष्ट्रमन्त्रीसँग छलफल गर्ने

संसदीय समितिले ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो)को मागबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सेवासुविधाको समेत मारमा परेका सिंगापुरमा कार्यरत ब्रिटिस गोर्खा सैनिकहरूको मागबारे सम्बोधन गर्नका लागि परराष्ट्रमन्त्री खड्कालाई बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।

सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरूको समस्या समाधानबारे समय मिलाएर परराष्ट्रमन्त्री खड्कासँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।

‘भूतपूर्व सिंगापुर गोर्खाहरूको मुद्दाको बारेमा अहिलेसम्म छलफल भइरहेको छ । र, समस्या आज पनि ज्यूँका त्यूँ छन । समाधान हुन सकिरहेको छैन,’ उनले भनिन्, ‘सिंगापुर प्रहरीको समस्या पनि ज्वलन्त बनेर आइरहेको छ । यी समस्याका बारेमा छलफल गर्नका लागि परराष्ट्रमन्त्रीज्यूलाई बोलाउनका लागि पत्राचार गर्ने निर्णय गरिएको छ ।’

बैठकमा समितिका सदस्यहरूले सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरूको माग सम्बोधन गर्नका लागि समितिको बैठकमा परराष्ट्रमन्त्रीलाई बोलाउनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्षसमेत रहेका समितिका सदस्य ईश्वर पोखरेलले समितिका सदस्यहरूले मनको बह पोख्नेभन्दा पनि परराष्ट्रमन्त्रीलाई बोलाएर सो समस्याको समाधानका लागि ठोस पहल गर्न उपयुक्त हुने धारणा राखेका थिए ।

सत्तारूढ नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले संसदीय समिति र संसदले दिएको निर्देशनसमेत सरकारले पालना नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले राजनीतिक दलहरूले परराष्ट्र नीतिका सम्बन्धमा साझा धारणा बनाएर यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई दबाब दिन ढिलाइ गर्न नहुने पनि पटकपटक दोहोर्‍याए ।

बैठकमा कार्कीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रीपरिषद्को निर्णय कार्यान्वयनका लागि सरकारले अमेरिकालाई पत्राचार नगरेको गुनासोसमेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर