चितवनमा एक पुरुषलाई खुकुरी प्रहार गरी फरार अभियुक्त काठमाडौंबाट पक्राउ

चितवनमा एक पुरुषलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी सख्त घाइते बनाएर फरार रहेका अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–४ खहरेपुल बस्ने ३० वर्षीय र्‍याक्स भन्ने सोचेन्द्र राई छन् ।

उनले गत वैशाख २४ गते राति ११ः५५ बजे खैरहनी नगरपालिका–६ सुनगाभाटोल बस्ने ३५ वर्षीय कुमार थापा मगरलाई थापाकै घरमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले प्रहरी वृत्त बालाजुसँगको समन्वयमा बुुधबार काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट खुकुरी १ थान, मोबाइल सेट ७ थान एनटीसी र एनसेलका सिमकार्ड ९ थान बरामद गरेको छ ।

राईलाई कारबाहीका लागि बिहीबार चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

राईको नाममा गत असार २७ गते पक्राउ पूर्जी र हाजिर हुन आउने म्याद जारी भएको थियो ।

उनलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसूरको दफा १८३ को उपदफा २ बमोजिम हुने सजायमा संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को (क) बमोजिम थप सजाय हुनु पर्ने मागदाबी लिई असार २३ गते अदालतमा मुद्दा दायर भएको थियो ।

राईले यसअघि पनि विभिन्न आपराधिक मुद्दामा कैद भुक्तान गरिसकेका छन् ।

उनलाई यसअघि कर्तव्य ज्यानसम्बन्धी १, डाँका १, चोरी ३ वटा गरी पाँच वटा मुद्दामा संलग्न रहेको आरोपमा अदालत पेस गरिएको थियो ।

उनी पटकपटक कारागारमा कैद बसेकोमा पछिल्लोपटक ११ बर्ष कारागारमा कैद भुक्तान गरी २०७७ जेठ १५ गते दिन गणतन्त्र दिवसको बाँकी कैद मिनाहा पाएर रिहा भएका थिए ।

राई गत वैशाख ११ गते काभ्रेपलान्चोक जिल्लामा लिलाबहादुर तामाङलाई खुकुरी प्रहार गरेको ज्यान मार्ने उद्योग मुद्दामा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।

यस्तै उनीमाथि ईलाका प्रहरी कार्यालय गजुरी, धादिङमा मोटरसाइकल चोरी मुद्दा दर्ता भई अनुसन्धानको क्रममा रहेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर