एमसीसी अनुमोदन गराउने अमेरिकी सहायकमन्त्री लुले एसपीपी फिर्ता हुनबाट रोक्न सक्लान ?

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एशिया मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खडकालाई भेट्दै छन् । सहायक विदेशमन्त्री लु अमेरिकी सेनासँगको साझेदारी स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) बाट नेपाल बाहिरिने सरकारले निर्णय गरेपछि  काठमाडौं आइपुगेका वरिष्ठ अमेरिकी अधिकारी हुन् । त्यसैले बिहीबार नेपाल आइपुगेका सहायकमन्त्री लुको तीन दिने नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।
नेपाल सरकारले असार ६ गते नै एसपीपीबाट बाहिरिने निर्णय गरेपनि त्यसको औपचारिक जानकारी अहिलेसम्म अमेरिकालाई गराएको छैन । बिहीबार मात्रै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीबाट बाहिरिने विषयमा अमेरिकी सरकारलाई पत्र लेख्न भैरहेको ढिलाई प्रति असन्तुष्टी जनाएको थियो । समितिले पत्र लेख्न भैरहेको ढिलाई विषयमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको थियो ।

लुको भ्रमणको क्रममा प्रधानमन्त्री देउवाको संभावित अमेरिका भ्रमणको विषयमा छलफल हुने छ । यसअघि असारको अन्तिम साता प्रधानमन्त्री देउवा अमेरिका भ्रमण जाने बताइएको थियो । एसपीपीबाट बाहिरिने नेपालको निर्णयसँगै अमेरिका भ्रमणको संभावना टरेको विश्लेषण हुँदै आएको छ ।
यसअघि सहायकमन्त्री लु फागुनमा नेपाल भ्रमणमा आएका थिए । त्यस समयमा अमेरिकासँग भएको सम्झौता एमसीसी अनुमोदन गराउन विषयमा सहायक विदेशमन्त्री लु सक्रियता निकै थियो ।
त्यस समयमा सहायकमन्त्री लुले नेपाली नेताहरुसँग टेलिफोन संवाद गरेका थिए भने नेपाल भ्रमणमा रहँदा सबै जस्तो राजनीतिक दलका नेताहरुलाई भेटेर दवाव दिएका थिए ।
उनले एमसीसी अनुमोदन नभए त्यसलाई चीनको प्रभाव परेर गरिएको निर्णय भनि अमेरिकाले बुझ्ने बताएका थिए । सडक प्रदर्शन र दलहरुबीच चर्को विवादका बीच फागुनको तेस्रो साता संसदले एमसीसी अनुमोदन गरेको थियो । त्यस समयमा ५ दलीय सत्तारुढ गठबन्धन विभाजनको डिलमा पुगेको थियो । एमसीसी अनुमोदनका लागि सहायकमन्त्री लुको भूमिका प्रमुख रहेको थियो । एमसीसी अनुमोदन गर्न भूमिका खेलका सहायकमन्त्री लुले एसपीपीबाट नेपाल बाहिरनबाट रोक्न सक्लान त्यो भने चासोका साथ हेरिएको छ । नेपालका सबै जस्तो राजनीतिक दलहरु एसपीपीबाट बाहिरिनु पर्ने पक्षमा रहेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारीले नेपाल भ्रमणको २ सातामै सहायकमन्त्री लुको भ्रमण हुन लागेको हो । असारको अन्तिम साता चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमण गरेका थिए । त्यस क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गरेका थिए । चीनले एसपीपी नेपाल बाहिरिने निर्णयको स्वागत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर