वातावरणीय स्वच्छताका लागि बाघको संरक्षण आवश्यक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रूपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताएका छन् ।

विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समिति नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले बाघको संरक्षणबाट वातावरण स्वच्छ हुने भएकाले यसको संरक्षणमा जुट्न आह्वान गरे । बाघ पाइने विश्वका सीमित देशमध्ये नेपाल पनि एक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बाघको संरक्षणबाट पर्यटकीय क्रियाकलाप गरी आर्थिक उपार्जन बढाउन सकिने बताए ।

“बाघको संरक्षण वृद्धि सुखद, नेपालले सन् २०१० रुसको सेन्ट पिटर्सवर्गमा गरिएको सम्मेलनको महत्वाकांक्षी योजनाअनुसार लक्ष्य पूरा गर्न योगदान गर्ने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु, बाघका लागि पर्याप्त आहार र विचरण क्षेत्र नहुँदा मानवबस्तीमा पसेर दुःखद् घटना हुने गरेकाले यसबाट सचेत हुनुपर्ने समय आएको छ, जनता ठूलो कि जनावर ठूलो भन्ने बहस चलेको छ,” उनले भने ।

बाघको बासस्थान व्यवस्थापन गरेर स्थानीयवासीको जीविकोपार्जन सुधार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताए । बाघ संरक्षणका चुनौती अन्त्य गर्न थप अध्ययन अनुसन्धान आवश्यक भएको उनको भनाइ थियो । संरक्षित क्षेत्र वरपरको बस्तीलाई सुरक्षित गर्न आवश्यक भएको पनि प्रधानमन्त्री देउवाले बताए ।

बाघको छला, हड्डीलगायतका कारण चोरी सिकारी हुनसक्ने भएकाले संरक्षणका चुनौती सामना गर्नेगरी तयारी गर्न मन्त्रालयलगायत सरोकारवाला निकायलाई उनले निर्देशन दिए । उनले बाघ संरक्षणका लागि कर्मचारी वृद्धि, क्षमता वृद्धि, अन्तर्राष्टिय सहायता संस्थासँग समन्वय आवश्यक भएको धारणा राखे ।

हालै सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्देशिका जारी गरेकाले त्यसअनुसार काम हुने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गरे ।
समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाघको संरक्षणका लागि मन्त्रालय र यसअन्तर्गतका निकायलाई आग्रह गरे । बाघ संरक्षणका क्षेत्रमा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न पनि उनले सुझाव दिए ।

“नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन बाघ पनि महत्त्वपूर्ण भएकाले यसको संरक्षण गर्नु आवश्यक छ, बाघको संरक्षणका लागि वन क्षेत्रको विकास गर्नुपर्छ, यसका लागि प्रकृति संरक्षण कोषले पनि ध्यान दिनुपर्छ,” अध्यक्ष नेपालले भने ।

प्रकृतिको संरक्षण गर्न नसके कुनै पनि जनावरको रक्षा गर्न नसकिने भएकाले सबैले आ–आफ्नो स्थानबाट संरक्षणमा जुट्नुपर्ने उनको भनाइ थियो ।

वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले बाघको संरक्षण गर्दा संख्या वृद्धि हुनुका साथै वातावरण संरक्षणमा पनि सहयोग पुग्ने भनाइ राखे ।

बाघको संख्या वृद्धिका लागि विशेष कार्यक्रम सुरु गरिएका उनले बताए । बाघ पाइने स्थानको पहिचान गरी नेपाली सोनाको समेत सहयोगले बाघ संरक्षण गर्न सकिएको उनले बताए ।

सो अवसरमा हाल नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको जानकारी गराइएको थियो । सन् २०१० अघि १२१ बाघमात्र नेपालमा थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक रामचन्द्र कँडेलले सन् २०१० मा बाघको संख्या घटेकामा हाल उल्लेखनीय रूपमा बढेको बताए । नौ प्रजातिका बाघमध्ये विश्वमा तीन प्रजाति लोप भएर तीन प्रजातिमात्र थियो । विश्वका १३ देशले गरेको प्रतिबद्धताअनुसार नेपालले दोब्बर बनाउन सफल भएको जानकारी पनि उनले दिए । बाघ संरक्षणमा नेपाल सफल देशका रूपमा स्थापित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर