
परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका छन् ।
सहायकमन्त्री लु परराष्ट्रमन्त्री खड्कालाई भेट्न शुक्रबार मन्त्रालयमा पुगेका थिए ।
भेटमा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षाका साथै कोरोनाविरुद्धको भ्याक्सिनबारे समेत कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ ।
सहायक विदेशमन्त्री लु अमेरिकी सेनासँगको साझेदारी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट नेपाल बाहिरिने सरकारले निर्णय गरेपछि काठमाडौं आइपुगेका वरिष्ठ अमेरिकी अधिकारी हुन् । बिहीबार नेपाल आइपुगेका सहायकमन्त्री लुको तीन दिने नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।
नेपाल सरकारले असार ६ गते नै एसपीपीबाट बाहिरिने निर्णय गरे पनि त्यसको औपचारिक जानकारी अमेरिकालाई दिन ढिलाइ गर्दा चर्को आलोचना हुँदै आएको थियो ।
प्रतिनिधिसभाको शु्क्रबारको बैठकमा परराष्ट्रमन्त्री खड्काले नेपाल एसपीपीमा सहभागी नहुनेबारे साउन ९ गते नै अमेरिकालाई लिखित जानकारी गराइसकेको जवाफ दिएका छन् ।
लुले शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यक्रम छ ।
लुको भ्रमणको क्रममा प्रधानमन्त्री देउवाको सम्भावित अमेरिका भ्रमणको विषयमा छलफल हुनेछ । यसअघि असारको अन्तिम साता प्रधानमन्त्री देउवा अमेरिका भ्रमण जाने बताइएको थियो । एसपीपीबाट बाहिरिने नेपालको निर्णयसँगै अमेरिका भ्रमणको सम्भावना टरेको विश्लेषण हुँदै आएको छ ।
प्रतिक्रिया