जोगिए जनार्दन : बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको छानबिन समितिको निष्कर्ष

चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सो प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा अर्थ मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफल, मन्त्रालयबाट प्राप्त जवाफ र कागजात तथा सीसीटीभी फुटेजको अध्ययन गर्दा करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको उल्लेख छ ।

“करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको र करका दरले अर्थतन्त्रमा पारेको प्रभावको नियमित अध्ययन, संसद्को विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने देखिएन”, प्रतिवेदनमा भनिएको छ ।

अर्थ मन्त्रालयबाट ‘एनभीआर सिस्टम’ प्राप्त भएको र त्यसबाट समेत समितिले खोजी गरेको मितिको फुटेज नभेटिएको सभापति कर्णले बताए । समितिलाई सुरुमा १० दिनको अवधि दिइएकामा असार २८ गते काम सुरु गरेको थियो । समितिले सूचना, तथ्यांक संकलन र स्थलगत छानबिन गरेको सभापति कर्णले बताए ।

समितिले अर्थ मन्त्रालयको सीसीटीभी जडान र अभिलेख निरीक्षण गरेको थियो । मन्त्रालय र मातहतका पदाधिकारीसँग छलफल गरिएको उनले जानकारी दिए ।

साउन ४ गते नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा सीसीटीभी फुटेज रिकभर गर्न पठाइएको थियो । मन्त्रालयबाट प्राप्त कागजात, पदाधिकारीसँगको छलफल, नेपाल प्रहरीको ल्याबबाट प्राप्त प्रतिवेदन र रिकभर भएका क्लिपलगायत कागजात र प्रमाणको विश्लेषण गरी प्रतिवेदन तयार गरिएको उनले बताए ।

प्रतिवेदनलाई सर्वसम्मत बनाउने प्रयास भए पनि कतिपय विषयमा सर्वसम्मत हुन नसकेकाले फरक मतका रूपमा प्रतिवेदनमा समेटिएको छ ।

संसदीय छानबिन समिति गठन भएपछि अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए । गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय छानबिन विशेष समिति गठन गरिने घोषणा गरेका थिए ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम सांसद कर्णको सभापतित्वमा गठित समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका थिए ।

संघीय संसद् नयाँ बानेश्वरमा शुक्रबार दिउँसो समितिका सभापति लक्ष्मणलाल कर्णले सो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १७ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

हेर्नुहाेस् संसदीय छानिबन विशेष समितिले तयार पारेकाे प्रतिवेदनकाे पूर्णपाठ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *