बीमाको रकम हत्याउन सवारी दुर्घटना गराएर हत्या, हत्यामा संलग्न ६ जना पक्राउ

बाँकेको कोहलपुर नगरपालिका–११ का २१ वर्षीय सर्जन विक २०७८ वैशाख २ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भए । बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोपबहादुर राना क्षेत्रीले चलाएको भे.१ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट गम्भीर घाइते भएका भे.१० प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा सोही दिन मृत्यु भयो ।

सर्जनले मृत्यु हुनुभन्दा करिब एक महिनाअघि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा २ करोड ५० लाख रुपैयाँको सावधिक जीवन बीमा र म्यादी जीवन बीमा गरेका थिए । बीमा गर्दा इच्छाइएको व्यक्तिमा उनले सपना मल्लको नाम राखेका थिए, जो सर्जनकी श्रीमती हुन् ।

सवारी चालक अनुमतिपत्रसमेत नभएका सर्जनले दुर्घटना हुँदा बीमा एजेन्ट सरदार अहमद खाँको मोटसाइकल चलाएका थिए । बीमा गरेको एक महिना नबित्दै सर्जनको मृत्यु भएपछि बीमा कम्पनीलाई शंका लाग्यो र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा ठगी कसूरमा उजुरी पर्‍याे ।

उजुरीपछि प्रहरी अनुसन्धानका क्रममा बीमा रकम हत्याउनैका ६ जनाको संलग्नतामा सर्जनको हत्या भएको खुलेको छ । बीमाबापतको रकम बाँडीचुुँडी खानकै लागि सर्जनसँग नक्कली विवाहदेखि सवारी दुर्घटना गराएर हत्या भएको खुलेको हो ।

हत्यामा संलग्न भएको आरोपमा सर्जनसँग नक्कली विवाह गर्ने बाँकेको कोहलपुर नगरपालिका–२ की २१ वर्षीया सपना मल्ल, स्याङ्जाको वालिङ नगरपालिका–६ घर भई हाल बाँकेको कोहलपुर नगरपालिका–११ बस्ने घटनाका मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, कोहलपुर नगरपालिका–१५ बस्ने बीमा एजेन्ट ३२ वर्षीय सरदार अहमद खाँ, बाँकेको बैजनाथ गाउँपालिका–८ घर भएका ३३ वर्षीय सवारी दुर्घटना गराउने टोपबहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका–११ का ३८ वर्षीय दीपक केसी र कोहलपुर नगरपालिका–१ की आरती भन्ने २१ वर्षीया ललिता सापकोटा पक्राउ परेका छन् ।

बीमा कम्पनीको उजुरीपछि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट सोमबार तथा सञ्जीव, सरदार अहमद, टोपबहादुर, दीपक र ललितालाई बाँके कोहलपुरबाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

सवारी दुर्घटनामा सर्जनको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरले बस चालक टोपबहादुरविरुद्ध २७ वैशाख २०७८ मा सवारी ज्यान मुद्दा चलाएको थियो । २५ माघ २०७८ मा अदालतले उनलाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवानाको सजाय सुनायो ।

मुद्दा सकिएलगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्स्योरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए । इन्स्योरेन्सबाट आएको रकम ६ जनाको समूहले बाँडेर लिएको पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार अयार्लको खातामा ८० लाख ३६ हजार, दीपकको खातामा ६० लाख, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार र सपनाको खातामा ४६ लाख ८९ हजार रुपैयाँ भेटिएको छ । ३ लाख ३ हजार पाँच सय एटीएम कार्डबाट निकालिएको पाइएको प्रहरीले जनाएको छ ।

सर्जनसँग नक्कली विवाह गरेकी सपनाको बयानअनुसार उनलाई सर्जनसँग बिहे गरे डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लगिदिने प्रलोभन दिइएको थियो । विवाह दर्तापछि सर्जनसँग सपनाको भेटसमेत भएको थिएन । उनी सर्जनको मृत्यु संस्कारमा पनि सहभागी भएकी थिइनन् ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर