यसरी भयाे समाजवादी केन्द्र बनाउने योजनाको ‘च्याप्टर क्लोज’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै वामपन्थी दलहरुबीच चुनावी मोर्चा मात्रै बनाउने बताएसँगै समाजवादी केन्द्र निर्माणको विषय च्याप्टर क्लोज भएको छ ।

पछिल्लो समयमा सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस बाहेकका अन्य पार्टीहरु मिलेर समाजवादी मोर्चा निर्माण गर्ने बताइएको थियो । तर मोर्चा बनाउने भनेर प्रस्ताव गर्ने डा बाबुराम भट्टराई र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नै त्यसका लागि तयार नभएपछि केन्द्र स्थापना गर्ने च्याप्पट क्लोज भएको हो।

भट्टराई नयाँ राजनीतिक दलको आन्तरिक तयारीमा व्यस्त रहेका छन् भने यादव पहिले देखि नै केन्द्र बनाउने योजनाको विपक्षमा रहेका थिए । प्रचण्ड यो साता केन्द्र बनाउने विषय तीव्रसँग अघि बढ्ने आफू निकट नेताहरुलाई जानकारी गराएका थिए ।

बैठकलाई सम्बोधन गर्दै  प्रचण्डले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठे पनि बैठकमा त्यस विषयमा पर्याप्त छलफल नभएको बताएका थिए ।

‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । बन्दै छैन । हामीले समाजवादी केन्द्र बनाइ हालौँ भनेर छलफल पनि गरेका छैनौँ । केही–केही साथीहरुले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो तर हाम्रा बैठकहरुमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन । छैन,’ दाहालले भने ‘चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणापत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ । टुंगिसकेको छैन । जे भए पनि यही गठबन्धन जान्छ र हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनुछ ।’

नेपाली कांग्रेस र नेकपा एमाले दुवैतर्फ बार्गेनिङ गर्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्र बनाउने विषयमा यादव र भट्टराई अनिच्छुक देखिएको कारण यसको च्याप्टर क्लोज भएको हो ।

प्रचण्डले साउनको पहिलो साता यस विषयमा भट्टराईको अतिरिक्त नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमसँग छलफल गरेका थिए ।

तर यो विषयले गठबन्धनभित्रै अविश्वास बढाउने काम गरेको थियो । जसले कांग्रेससँग चुनावी गठबन्धन गरेर एमालेलाई साइजमा ल्याउने योजना समेत संकटमा पर्ने देखिएपछि प्रचण्ड त्यसबाट पछि हटेका हुन् । जसले चुनावपछि बन्ने सत्ता गठबन्धनमा साना राजनीतिक दलहरुलाई साथमा लिएर आफू प्रमुख खेलाडी बन्ने प्रचण्डको योजनामा धक्का लाग्न पुगेको  छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर